Sunday, March 31, 2019

पार्टी केन्द्रमा रहेर राष्ट्रिय राजनीति गर्ने सोचमा छु –सांसद भट्टराई

नेपाल कम्युनिस्ट पार्टी नेकपाका तर्फबाट खोटाङ क्षेत्र नम्बर १ का सांसद विशाल भट्टराई २४ भदौ २०५९ पछिका ४६ दिन तत्कालीन नेकपा माओवादीको बन्दी बने ।

खोटाङ कै छितापोखरीमा तत्कालीन नेकपा एमालेको कार्यक्रम सुरु हुनै लाग्दा सशस्त्र माओवादीहरुले कार्यक्रमस्थल नियन्त्रणमा लिएर भट्टराईसहित ८ जनालाई अपहरण गरेका थिए । भट्टराई सम्झन्छन्, ‘डेढ महिनामा मुक्त भएपनि त्यसपछि लगभग विस्थापित जीवन बिताउनुपर्‍यो ।’

त्यसबेलाका अपहरणकारी र अपहरित भट्टराई अहिले एउटै दल नेकपामा छन् । बरु अपहरणकारीमध्येका नेत्रविक्रम चन्द विप्लव समूह ‘जनसत्ताका लागि युद्धको तयारी’मा छ, जुन भट्टराईलाई ठीक लागिरहेको छैन । विप्लवले बन्दुकबाट सत्ता हासिल गर्नसक्छन् भन्ने पनि लाग्दैन उनलाई ।

रुसमा सन् १९१७ मा भ्लादिमीर इ लेलिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तीले सत्ता कब्जा गरेको थियो । चिनमा पनि १९४९ मा माओ त्से तुङको नेतृत्वमा भएको सशस्त्र कम्युनिष्ट बिद्रोहले सत्ता कब्जा गर्‍यो । नेपालमा त्यही किसिमले सत्ताकब्जा गर्नु असम्भव भएको भट्टराई बताउँछन् ।

फेरि नेपालमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशी राज्य लगायतका लोकतान्त्रिक मागहरु पूरा भएर पनि संस्थागत हुने क्रममा छन् । ‘अहिले विप्लव समूहको माग केही देखिँदैन’, भट्टराई भन्छन्, ‘यो लोकतान्त्रिक ब्यवस्था फालेर सत्ता हामीलाई सुम्प भन्ने माग पनि कहीँ हुन्छ रु’

उनको बिचारमा नेत्रविक्रम चन्द शक्ति आर्जनका लागि जंगल पस्ने घुर्की लगाइरहेका छन् । ‘नेपालमा विद्रोहपछि खुला भएर आउँदा शक्ति आर्जन हुन्छ भन्ने मान्यता स्थापित भएको छ’ भट्टराइ भन्छन्, ‘विप्लवलाई पनि अलिकति शक्ति आर्जन गरौं भन्ने भएको छ ।’

बन्दुक बोकेर जंगल पस्ने, दुईचार हजारलाई मारेर आफू बाँच्ने अनि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्छु भन्ने सोच सर्बथा गलत हुने भट्टराई बताउँछन् ।



विप्लव र सिके राउतको विषयमा अन्तरविरोध
पृथकतावादी गतिविधि गरिरहेको सिके राउतसँग ११ बुँदे सहमति गरेको केपि शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिवन्ध लगाउने निर्णय गर्‍यो । यी विषयमा नेकपाभित्र अन्तरविरोध हुन नहुने सांसद भट्टराई बताउँछन् । यी विषयमा पार्टीबाट बाहिरिएको असन्तुष्टिलाई ‘आफूलाई हिरो बनाउन गरिएका नाटक’ मान्छन् उनी ।

यो नाटकका हिरोहरु आउँदो महाधिवेशनमा सफाचट हुनेमा कुनै द्विविधा नरहेको उनले बताए । पार्टी एकता टुङ्गिन बाँकी रहेकाले त्यसको असर पनि देखिएको उनको विश्लेषण छ । उनी भन्छन्, ‘यसमा केपी ओलीको विरोध गरेर सेलिब्रेटी हुने मनोरोगले पनि काम गरेको छ ।’

२०७२ सालमा केपी ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा विरोधको ठाउँ नपाएकाहरु अहिले मौका पाउँनासाथ बिस्फोट हुन खोज्ने भट्टराई बताउँछन् । पृथकतावादी आन्दोलनको नेतृत्व गरेका राउतसँग सरकारले गरेको सहमति उनलाई ठीक लागेको छ । ‘जनअभिमत मान्छु भनेर आइसकेपछि शंका गर्नुपर्दैन’, उनी भन्छन्, ‘कदाचित मानेनन् भने राज्य छ नि यो देशमा ।’

दोस्रो पटक संघीय सांसद निर्वाचित भट्टराईको गत एक वर्षको अनुभव उनकै शब्दमा स्
यो बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट बाहेक मौलिक हकसँग सम्बन्धित कानूनहरु बने । संविधानसंग बाझिएका कानूनहरु संशोधन भए । केही सार्वजनिक महत्वका विषयहरुमा छलफल भए ।

तथापि, संसद जनताको आकर्षणको केन्द्र नै भएको छ भन्दिन । प्रमुख प्रतिपक्ष दलका माननीयहरुले सभामुखमाथि नै प्रश्न उठाउनुभयो । उहाँहरुले मज्जैले बोल्न पाउनुभएको छ ।

सत्तापक्षका साँसदहरुलाई भने हरेक कानुन संशोधन गरेर जान अप्ठेरो छ । न पक्षमा बोल्न सहज हुन्छ न त बिपक्षमा । र पनि, संसदमा प्रभावकारी भूमिका खेलेको छु भन्ने लाग्छ ।

२०७४ सालपछि निर्वाचन क्षेत्र विकास कार्यक्रम कटौती हुने स्थिति आयो । ठूला नेताहरुले नै यो जरुरी छैन, यो सांसदको काम होइन भन्नुभयो । मेरै नेतृत्वमा एउटा टिम बन्यो र धेरै बहस, छलफल गर्यो । अन्ततः चाररचार करोड बाँड्न पाउने गरी टुङ्ग्यायो । यसलाई म एउटा महत्वपूर्ण काम मान्छु ।

मैले त्यो चार करोड बजेट पारदर्शी ढङ्गले विभिन्न आयोजनामा छुट्ट्याएर जनतालाई खबरदारी गर्न भनेको छु । झापा, मोरङ, सुनसरी हुँदै हलेसी जोड्ने सडकको लागि पचास लाख छुट्ट्याएँ । बाँकी बजेट कृषिमा, भेटनरी, स्वास्थ्य, कोल्डस्टोर र हरेक पालिकामा प्राविधिक शिक्षालयका लागि छुट्ट्याइदिएँ । यो बजेटलाई चार करोडबाट १० करोड बनाउनुपर्छ भनेर लागेका छौं ।

खगराज अधिकारी प्रस्तावक र म समर्थक रहेको सार्वजनिक महत्वको प्रस्तावमाथि पुरै दिन छलफल भएर सरकारले थालेका देशभरका योजनारआयोजनाहरु संघीय सरकारले पूरा गरेर प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय भयो ।

परिपाटीको कुरा गर्नुहुन्छ भने सांसदले संसदमा बोलेको महत्व नहुने भन्ने परेको छ जनतामा । मन्त्री, प्रधानमन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम सुरु भएको छ । यो सुखद पक्ष हो, तर कार्यान्वयनको पाटो प्रभावकारी छैन ।

संसदीय समितिहरु अघिल्लो सदनमा जस्तो प्रभावकारी हुन सकेनन् भन्ने भान भएको छ । संसदीय समितिले सरकारमा को छ भन्ने बिचार गर्यो भने त्यसका गतिविधि कामलाग्दो हुँदैन । म सार्वजनिक लेखा समितिमा छु र गलतलाई गलत, सहीलाई सही भनेरै लडिराखेको छु ।

वाइडबडीको विषयमा सुगतरत्न कंसाकारले गरेको ठूलो घाटा लाग्ने कामको बिरोध गरेँ, राजनीनामा नै मागे । अहिले पनि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले छानविन गरोस् भन्ने पक्षमा छु । अख्तियारले त्यो काम गर्दै पनि छ ।

विपक्षीले सरकारको जे कामको पनि विरोध गरिरहेको हुन्छ । हामी कहिलेकाकाही पक्षमा बोलिदिन्छौं । राष्ट्रपति, प्रधानमन्त्री, न्यायलयमाथि अनुचित कुरा आउँदा प्रतिरक्षा र सरकारका राम्रा कामको प्रचार गर्नुपर्छ । त्यस्तो बेला विपक्षी सांसदलाई हामीले उत्तर दिए जस्तो भान पर्न सक्छ ।

म धेरै ठूलो सपना बोकेर राजनीतिमा आएको होइन । गाउँमा अन्याय, विभेद, विसंगतिको बिरोध गर्दागर्दै २०३९ सालमा विद्यार्थी संगठनबाट राजनीति सुरु गरेँ । सदस्य भएको संगठनमा अध्यक्ष पनि भइहाँले । अब पार्टी केन्द्रमा रहेर राष्ट्रिय राजनीति गर्ने सोचमा छु ।

हरेक सेवा प्रवाह र गतिविधि नियाल्ने गरौं -मेयर रिजाल

देशका ७५३ वटा स्थानीय तहमध्ये पहिलो आवधिक नगर योजना बनाउन सफल खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विकासका हरेक गतिविधिमा अग्रसर भएर अघि बढीरहेको छ । स्थानीय तहको चुनाव भएको लगभग दुई वर्ष पुरा हुनै लागेको छ । यस अवधिमा समग्र नगरको गतिविधिबारे नगरप्रमुख दिपनारायण रिजाल सँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
  • गाउँ–गाउँमा सिहंदरबारको सेवा प्रवाह कस्तो हुँदैछ ?

खासगरी जब–जब स्थानीय तहको निर्वाचन भयो, गाउँ–गाउँमा सिंहदरबार आयो । ऐन कानून निर्माणमा विषेश ध्यान दिइएको छ । पहिले केन्द्र वा प्रदेशमा गएर गर्नुपर्ने कामलाई अहिले वडाबाट नै गरिने वातारण निर्माण भएको छ । गाउँ–गाउँमा सिंहदरबारको अर्थ जनतालाई सास्ती नहुनु हो । हामीले पनि त्यसरी नै काम गरिरहेका छौं । नेपालको भौतिक संरचनाको हिसाबले पनि सानो–सानो कामको लागि सिंहदरबार अर्थात मुख्य प्रशासनीक केन्द्र धाउँनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय सरकारले ऐन निर्माणका कामहरु सम्पन्न गरेको छ । अब यसको कार्यान्वयमा रहेको छ । मलाई लाग्छ हामी यस कुरामा स्पष्ट रुपमा लागेका छौ ।
  • जनतामा कत्तिको सन्तुष्टि देख्नु भएको छ ?

पक्कै पनि नेपालको इतिहासमा पहिलो पटक २० वर्ष पछि नेपालमा यसरी पहिलो निर्वाचन भयो । स्थानीय निर्वाचनपछि जनतामा अहिले मैले ठुलो आशा देखेको छु । मैले यहाँ धेरै विकास निर्माणका कामहरु सम्पन्न गरेको छु । जनताको अपेक्षा अनुसार काम गर्ने प्रयत्न भइरहेको छ । तर, अर्को सत्य के हो भने कुनै पनि समाज पूर्ण रुपमा सन्तुष्ट हुन सक्दैन । मैले मेरो तर्फबाट हुनसक्ने सम्पुर्ण प्रयासहरु गरेको छु । हाम्रो नगरपालिकालाई देशकै नमुना बनाउँनको लागि म लागि परेको हुँदा यहाँ जनतामा पनि त्यति धेरै निराशा देखिएको छैन । समग्रमा भन्नुपर्दा यहाँ जनतामा मैले सन्तुष्टि नैं देखेको छु । यसैले म पनि खुशी छु ।
  • तपाई आफुले गरेको कामलाई १०० नम्बरमा आफै कति अंक दिन सक्नुहुन्छ ?

यो अलिक गाह्रो प्रश्न हो । आफैले आफैंलाई एक समय नम्बर दिन त नमिल्ला । तर मैले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सय प्रतिशत नै लागेर काम गरेको छु । हामी देशको पहिलो विकास निर्माणका कामहरु तय गर्ने नगरपालिकाको रुपमा रहेका छौ । म पाँच वर्षका लागि निर्वाचित भएको हुँ, यसकारण मैले पाँच वर्षसम्म गर्ने योजना तयार पारेको छु । म तपाईलाई के भन्छु भने मैले मेरो कार्यकालमा आफुले भनेका सबै कामहरु पुरा गर्न सक्छु । अहिलेलाई म मेरो कामलाई एक सय प्रतिशतमा तीस देखि चालीस प्रतिशत दिन चाहान्छु । मैले अहिले धेरै काम गरेको छु र बाँकि कामहरुको खाका तयार गर्दैछु । मेरो बाँकी कार्यकालमा एक सय प्रतिशत काम गरेर मतदाताको मन जित्ने गरी नै काम गर्ने मेरो प्रतिज्ञा छ ।


  • स्थानीय तहमा सोचेजस्तो काम गर्न कस्ता अप्ठ्याराहरु छन् ?

देश संघीयतामा गए पछि यहाँ मात्रै होईन देश भरि नै कर्मचारी व्यवस्थापनको समस्या रहेको छ । हाम्रो नगरपालिकाले पनि कर्मचारी सम्बन्धिको समस्या भोग्नु परेको छ । हाम्रोमा विशेष गरेर प्राविधिक कर्मचारीहरुको अभाव रहेको मैले पाएको छु । अर्को कुरा नेपालमा अहिले अपनाइएको संघीयता विश्वमा नयाँ मोडलको संघीयता हो । विश्वका २९ देशहरुमा भएको संघीयताको बारेमा अध्ययन गर्न चाहानेहरुले नेपालबाट धेरै कुराहरु सिक्न सक्नुहुन्छ ।

नेपालमा केन्द्र, प्रदेश र स्थानीय तहमा नै कार्यपालिका, न्यायपालिका हरेक तह र तप्काको निर्माण गरिएको छ । संविधानमा यसरी लेखिएको भए पनि संघीयता कार्यान्वय गर्ने सन्दर्भमा स्थानीय तहलाई अधिकार सम्पन्न गर्न नसकेको अवस्था रहेको छ । माथिल्लो स्थानीय निकायहरुमा दबाब सिर्जना हुने खालका समस्याहरु रहेको मैले पाएको छु । तपाईलाई उदाहरणका लागि कुनै वडामा गर्न सकिने कामको सम्झौता गर्नका लागि केन्द्र वा प्रदेशमा जानुपर्ने बाध्यता रहेको छ । मैले यति भन्न चाहेको हुँ संविधाअनुसार कतिपय अवस्थामा स्थानीय निकायलाई चल्न दिइएको छैन ।
  • स्थानीय तह कतिसम्म अधिकार सम्पन्न भएको महसुस गर्नु भएको छ ?

संविधान अनुसार स्थानीय निकायलाई दिइएको अधिकार प्रयोग गर्न दिइएको छैन । सानो–सानो कुराहरुमा पनि केन्द्र सरकार वा प्रदेश सरकारबाट हस्तक्षत हुने गरेको छ । नगरपालिका आफैंले सम्पन्न गर्न सक्ने कामका लागि कहिले संघको सिंहदरबार त कहिले प्रदेशको मुख्य प्रशासनीक केन्द्र नै जानुपर्ने बाध्यता अझै छ । यो वास्तवमा एक दुःखद कुरा हो । स्थानीय तहलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, तर अहिले हाम्रोमा कतिपय अवस्थामा हस्तक्षप भएको महसुस हुन्छ । मैले यसमा भन्न खाजेको कुरा के हो भने संविधानमा अधिकार दिइएको छ तर कार्यान्वयन गर्ने सन्दर्भमा कहिलेकाही बल प्रयोग गरिएको छ । मुठ्ठी फुकाएर संविधानमा भएजति अधिकार स्थानीयलाई दिन कन्जुस्याई गरिएको छ ।
  • अहिलेसम्मको कार्यकालमा आफुले महत्वपूर्ण मान्नु भएका प्रमुख ५ कामहरु उल्लेख गर्नुपर्दा ?

मैले पहिले पनि भने हाम्रो दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका नेपालमा पहिलो आवाधिक योजना निर्माण गर्ने नगरपालिका हो । अनि अर्को मैले पर्यटन विकासका लागि हामीसँग भएको प्राकृतिक स्रोतहरुको प्रवृद्धनसँगैं पुनःनिर्माण गरिएको छु । जस्तै जतिपनि भक्तजनहरु हलेसी दर्शन गर्न आउँनुहुन्छ, उहाँहरु एक पटक कालिका भगवतीमा आएर दर्शन गर्ने वातावरण निर्माण गरिएको छ ।

विभिन्न धार्मिक विश्वासका आधारमा हेर्ने हो भने जो व्यक्ति हलेसी दर्शन गर्छ उसले कालिका भगवतीको पनि दर्शन गर्नुपर्छ । हामीले यसका लागि त्यहाँसम्म पुग्नको लागि सडक सञ्जाल लगायतका अन्य कुराहरुको विकास गरिरहेका छौं । मौरे मा आँखा पोखरी, रुपाकोटमा भ्यू टावर, भुलभुले पोखरी, विश्वको सबैभन्दा अग्लो एलम्बर पार्क निर्माण गर्ने तयारी थालिएको छ । तेस्रो सबै वडाहरुमा लगातार सडक संचालनका लागि कामहरु भइरहेको छ ।

अहिले सडक सञ्जाल पुगेका वडाहरुका वर्षायाममा समस्या हुने गर्दछ, त्यसको न्युनिकरण गर्नको लागि काम थालिएको छ । चौथो, दिक्तेल बजारको फोहोर व्यवस्थापन गरेका छौ । फोहोर व्यवस्थान सभ्य समाजमा चुनौतीका रुपमा रहेको छ । हामीले यो चुनौतिलाई पार गर्न सफल भएका छौं । र अन्त्यमा मैले कृषि क्षेत्रको लागि विशेष पहल गरेको छु । हरेक वडामा कृषि केन्द्र निर्माण गरेर यहाँको उत्पादनलाई निर्यातको अवस्थासम्म पुर्याउनको लागि काम थालेको छु ।
  • नगरवासीलाई तपाईको सन्देश केही छ ?

म मेरा नगरवासी दाजुभाई दिदीबहिनीलाई सम्मान गर्न चाहान्छु । समग्र नगरको विकासका लागि सबैलाई सहयोग गर्नको लागि अपिल गर्न चाहान्छु । अर्को महत्वपूर्ण कुरा के हो भने आफ्नो वडाहरुमा आएको कामको बारेमा चासो राख्नु पर्छ । कति बजेट आएको हो कसरी काम भइरहेको छ जस्ता सार्वजनिक चासोको विषयहरुमा निर्णायकको भूमिकामा रहन अनुरोध गर्दछु । म सबैलाई अपिल गर्न चाहान्छु, आउँनुहोस सबै मिलेर हाम्रो नगरपालिकालाई नेपालको नमुना नगरपालिकाको रुपमा स्थापित गरौ । अन्त्यमा म भन्न चाहान्छु संविधानले दिएको सबै अधिकार दिए चमत्कारीक विकास गरेर स्थानीय तहले विश्वलाई देखाउने छौ । यतातर्फ सबैको ध्यान जाओस् । धन्यवाद,

ओखल्ढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्युु

ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाइते भएका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ज्यान गुमाउने तथा दुर्घटनामा पर्नेहरुको पहिचान खुल्न सकेको छैन ।