Tuesday, June 18, 2019

लामिडाँडा बिमानस्थलमा फुच्चे जहाज अवतरण

३ असार, खोटाङ । लामिडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको छ । साढे दुई वर्षअगाडि शुरु भएको स्तरोन्नती योजनाअनुसार धावनमार्ग तथा एप्रोन एरिया पीच गरिएको छ ।

स्तरोन्नती सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ । प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईकाअनुसार ६ करोड ३४ लाख रुपैयाँ लगानीमा लामीडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको हो ।

अब विमानस्थल जुनसुकै मौसममा पनि सुरक्षित रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । लामिडाँडा एयरपोर्ट यस भेगमा लुक्ला पछिकै व्यस्त विमानस्थल मानिन्छ ।

काठमाडौंबाट लुक्ला उडेका जहाज प्राविधिक कारणले लुक्ला पुग्न सकेन भने लामीडाँडा ट्रान्जिट बस्छन् । त्यसकारण पनि यो विमानस्थल रणनीतिक महत्वको मानिन्छ । समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामिडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ ।



नियमित चल्ने वातावरण बनाउँछु - भट्टराई
रावाबेसी गाउँपालिकामा पर्ने यो विमानस्थललाई अब नियमित सञ्चालनको वातावरण बनाउने प्रतिवद्धता खोटाङका सांसद विशाल भट्टराईले गरे । मंगलबार विमानस्थल स्तरोन्नतीपछि पहिलो उडानका क्रममा काठमाडौंबाट पुगेका प्राविधिक तथा जहाजका कर्मचारीलाई स्वागत गर्दै भट्टराईले अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकोप्टर मगाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

निजी क्षेत्रका वायुसेवा कम्पनी लुक्ला र जोमसोम मात्र नभई ग्रामिण भेगका नेपालीलाई पनि सेवा दिनुपर्ने उनको भनाइ थियो । खोटाङसहित सोलुखुम्बु र ओखलढुंगाका नागरिकसमेत जहाज चढ्न लामिडाँडा आउने भएकाले नियमित उडान गर्दा वायुसेवा कम्पनीलाई घाटा नहुने उनको दाबी छ ।

रावावेशी गाउँपालिकाका अध्यक्ष लिलानाग निरौलाले खोटाङको पहिचानका रुपमा रहेको हलेसी महादेवको मन्दिरका कारण पनि यो विमानस्थलमा यात्रुको कमी नहुने उल्लेख गरे । विमानस्थलबाट करीव १ घण्टाको दूरीमा हलेसी महादेव पर्छ ।

५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको यो विमानस्थलमा ट्वीनटर जहाजहरु उडान(अवतरण गर्न सक्छन् अर्थात लुक्लाकै आकारमा यो विमानस्थल तयार भएको छ । यहाँ एक साथ दुईवटा जहाज रोक्न मिल्ने गरी एप्रोन बनाइएको छ । २०२८ सालबाट सञ्चालनमा आएको यो विमानस्थल धेरै समयसम्म खोटाङबासीको एक मात्र माध्यम थियो ।

खोटाङमा लामीडाँडासँगै खानीडाँडा र थामखर्कमा पनि विमानस्थल छ । थामखर्क विमानस्थलको २९ माघमा तत्कालिन पर्यटनमन्त्री स्वं रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । खानीडाँडा विमानस्थल स्तरोन्नतीको क्रममा छ ।

Thursday, June 6, 2019

केन्द्र र प्रदेशले स्थानीय तहलाई अधिकार सम्पन्न हुन दिदैन, केही न केही बाहना बनाएर हस्तक्षेप गरिरहन्छ –अध्यक्ष राई (भिडियो सहित)

देशमा संघीयता लागू भएर स्थानीय तह गठन भएको दुई वर्ष पुरा भएको छ । खोटाङ जिल्लामा अहिले दश वटा स्थानीय तह छन् त्यो मध्ये केपिलासगढी गाउँपालिका साविकको फेदी, खार्तम्छा, बाँसपानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल मिलेर बनेको १९१.५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिका हो । 

१५ हजार २८८ जनसंख्या रहेको यस गाउँपालिका भौगोलिक रुपमा अत्यन्तै विकट गाउँपालिकाको रुपमा लिने गरिन्छ । यद्यपी स्थानीय तह स्थापना भईसकेपछि गाउँगाउँमा सिंहदरबारको चर्चा भईरहेको छ, समृद्ध गाउँपालिका र सिंहदरबारको अधिकार गाउँमै भएपछि स्थानीयहरुले धेरै सहजताको अनुभुती गर्न थालेका छन् र विकासले पनि गति लिएको देख्न सकिन्छ । यसै सेरोफेरोमा रहेर गाउँपालिकाका प्रमुख अध्यक्ष कृष्ण कुमार राईसँग गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ । 
  • गाउँगाउँमा सिंहदरबारको अनुभूती कस्तो भईरहेको छ ?

चुनाव हुनु अघिनै गाउँगाउँमा सिंहदरबारको कुरा आईसकेको थियो । यद्यपी अहिले जनताले सिंहदरबारको अनुभू ितगर्न पाएका छन् किनभने हामीले विकासका कुराहरु जनतासँग प्रत्यक्ष रहेर गरिरहेका छौं । विगतमा एउटा गाविस बराबर केही बजेट आउँथ्यो भने अहिले एउटा गाउँपालिका बराबर लगभग ३० करोड भन्दा बढी बजेट आउँछ । 

अन्य सेवा सुविधा अन्तर्गत शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारहरु पनि द्रुत गतिमा अघि बढिरहेको छ तसर्थ जनताले अबको दश वर्षभित्र सिंहदरबारको अनुभुती पनि गर्छन र सिंहदरबारै पनि हुन्छ तर अलिकती नीतिमा तलमाथि हुनुप¥यो । केन्द्रकै मातहतमा सबै नीति नियम र अधिकार प्रयोग गर्नु भएन । मुठी खुकुलो पार्नुप¥यो । केन्द्रीय स्तरबाट कुन कुन काम भएको थियो त्यही काम गर्नु भएन । 

त्यहाँ त अरौटे भरौटेहरुको आफ्नै कारणले समस्या थियो अहिले स्थानीय तहलाई सबल बनाईयो भने समृद्ध नेपालको कल्पना गर्न सकिन्छ र स्थानीय तहलाई समृद्ध बनाउन सकिन्छ । कर्मचारीहरु पदपूर्ती हुन नसक्दा ज्यादै समस्या भएको छ । त्यसपति केन्द्र सरकारले कन्जुस्याँई गर्नु भएन र प्रदेशले पनि त्यही खालको भूमिका निर्वाह गर्नुप¥यो । 

प्रदेशमा पनि निकै विज्ञ मान्छेहरु सभाषद भएर पुग्नुभएको छ । प्रदेशले पनि मुठ्ठी खुकुलो पार्नुपर्छ । हामी हौं भन्ने मात्र कुरा गर्नु भएन प्रक्रियागत रुपमा उहाँहरु सम्मानित पदमा हुनुहुन्छ उहाँहरुले पनि स्थानीय तहलाई सबल बनाउन समानुपातिक रुपमा सबैलाई बराबर ढंगले हेर्नुपर्छ जसको पहुँच छ त्यसलाई मात्र हेर्ने हैन सबैलाई बराबर दृष्टिकोणले हेर्नुपर्छ । गाउँगाउँमा सिंहदरबारको प्रत्याभूति भईरहेकै छ ।



  • जनताहरु कतिको सन्तुष्टि भएको पाउनुभएको छ ?

जनताहरु सन्तुष्टिनै छन् । हाम्रो काम गर्ने शैली मन पराएका छन् । कतिपय अवस्थामा सकारात्मक र नकारात्मक पाटोका पनि जनता भेटिन्छन् । अन्य पालिकाहरुमा जनप्रतिनिधिसँग जनता खुशी नभएको खबर पनि बेला बेला सुन्न पाईन्छ तर हाम्रो पालिकाको हकमा भन्नुपर्दा जनताहरु एकदमै सन्तुष्टि भएको मैले पाएको छु । 

भित्री आत्मादेखि छात्तिमा हात राखेर भन्नुपर्दा जनताले यहाँको विकासहरुमा जननिर्वाचित प्रतिनिधिहरुबाट साथ सहयोग पाईरहनुभएको छ । र सबैकुरा स्थानीय स्तरमै हुने भएकाले जनताहरुलाई एकदमै सन्तुष्टि छन् भन्ने मलाई लाग्छ ।

  • स्थानीय तहमा रहेर काम गर्न कत्तिको सहज छ ?

स्थानीय तहमा रहेर काम गर्न अफ्ट्यारो त भईनै हाल्छ किनभने यो एउटा सुरुवातको चरण पनि हो । अहिले धेरै जनताहरुले नबुझिरहेको स्थिती पनि छ । जनताहरुमा सबै आवश्यकता स्थानीय तहबाटै पूर्ती हुन्छ भनेर सोच्ने मानसिकता पनि छ तथापी पनि हामीलाई काम गर्नको लागि मुख्य असहज चाँही कर्मचारी अभावकै हो । जति पनि स्थानीय तहलाई दिएको कार्यालयहरु छन् व्यवस्थित नहुनु पनि हो । भौतिक पूर्वाधार तयार गर्ने काम हामी स्थानीय तहहरुको हो तर राज्यले पनि सोचिदिनुप¥यो । 



कर्मचारी परिपूर्ती गर्ने दायित्व राज्यको हो । कर्मचारीहरु कुन कुन ठाउँमा के कस्ता अवस्थामा छन् भनेर सोच्ने जिम्मा राज्यको हो नि ? जिल्ला समन्वयले पनि त्यसको जिम्मा लिनुप¥यो । अधिकारमात्र खोजेर भएन । के हो त आवश्यकता त्यसलाई पूर्ती पनि गर्नुप¥यो । कर्तव्य पनि निर्वाह गर्नुप¥यो नि । हामीले त वडाहरुमा के के आवश्यकता छ त्यो हेर्ने हो नि । 

वडाहरुलाई यो गर त्यो गर भनेर मात्र हुन्छ ? वार्डमा आवश्यक कामहरुको परिपूर्ती गर्न सक्नुप¥यो नि त्यस्तै संघ प्रदेश र जिल्ला समन्वय समितिले त्यसको भूमिका निर्वाह गर्नुप¥यो । यहाँ कर्मचारी अभाव भएर हामी जनप्रतिनिधि आफैले दैनिक ८, ९ बजेसम्म बसेर काम गरिरहेका छौं । भएका कर्मचारीहरुको पनि कहिले के पर्छ कहिले के पर्छ जानै प¥यो, छुट्टि दिनै प¥यो । 

स्थानीय तहमा कार्यालयहरुको पनि कुरा छ, अहिलेसम्म मालपोत, नापी जस्ता कार्यालयहरु खोई दिएको स्थानीय तहलाई ? प्रदेश र जिल्ला समन्वय समितिले  खोई  चासो देखाएको ? नापी कार्यालयको मान्छे ल्याउनुप¥यो वा जग्गाको काम गर्नुप¥यो भने सदरमुकाम पुग्नुपर्छ । नागरिकता वितरण खोई ? केन्द्र सरकारले एउटा नीति लियो नागरिकता जिल्लाबाटै वितरण गर्ने भनेर तर यत्रो ठूलो भूगोल भएको केपिलासगढीमा कम्तिीमा इलाका सम्म बनाएर कार्यालय स्थापना त गर्नुप¥यो नि ? 

खोटेहाङ, ऐसेलुखर्कमा स्थापना भएपछि हाम्रो पालो हैन ? त्यसतर्फ सम्बन्धीत निकायले ध्यान दिएको खोई ? हामीले कर उठाउने एउटा लक्ष्य लिएका थियौं तर त्यो पुरा गर्न सकिएको छैन । सबै अधिकार स्थानीय तहमा दिईयो, हामी खाली भयौं भन्ने होईन , हामी यत्रो संघर्ष ग¥यौं यत्रो बलिदानी भयो । यो सबै संघीयताको लागि भएको हो नि । र संघीयताको लागि भएको कारणले उहाँहरुले बुझिदिनुप¥यो । 

स्थानीय तहलाई बलियो बनाईदिनुहोस् । सबैको लागि उत्तम हुन्छ । राम्रो हुन्छ । भविष्य रामो हुन्छ । होला कुनै स्थानीय तहमा जनप्रतिनिधिहरु खराब पनि होलान् त्यस्ता खराब जनप्रतिनिधिलाई कारवाही गर्ने ठाउँ पनि बनाईदिनुहोस् तपाईहरुले । र राम्रो क्षमता भएका र राम्रो काम गर्नेलाई कुनै पनि कुरामा नरोक्नुस् आलटाल नगरिदिनुहोस् ।

  • स्थानीय तह अधिकार सम्पन्न भएको महशुष गर्नुभएको छ कि छैन ?

स्थानीय तह आफैमा अधिकार सम्पन्न त हो तर कार्यान्वयनको पाटो अत्यन्तै अफ्ट्यारो छ । संविधानले दिएको अधिकार शतप्रतिशत हामीले लागू गर्न सकेका छैनौ । एक त हामी सुरुवाती चरणमा पनि छौं । संविधानले किटान गरेको जतिपनि अधिकार छन् । केपिलासगढी गाउँपालिकाले विगतमा आन्तरिक राजश्व बढाउने भने केही क्षेत्र निर्धारण गरेर लक्ष्य तोक्यौं पनि । 

विभिन्न कृषि उपज बस्तु निकासी मार्फत, अन्य सिफारिस दस्तुरहरु मार्फत राजश्व संकलन गरेर आन्तरिक आय वृद्धि गर्ने योजना पनि बनायौं तर उल्टो भयो । खोटाङ जिल्लामै सबैभन्दा बढी अलैची हाम्रो पालिकामा हुन्छ । त्यो अलैची निकासी करको लागि प्रदेशले जिल्ला समन्वय समितिलाई टेण्डर हाल भन्यो । अनि कसरी हामीले हाम्रो लक्ष्य पुरा गर्ने ? यसरी हस्तक्षेप गरेर हुन्छ ? हस्तक्षेप नगरिदिनुहोस् । 

हाम्रो ठाउँमा उत्पादन भएका कृषि उपज वस्तुहरुको कर निर्धारण गर्ने र कर उठाउने अधिकार हाम्रो हो । विगतमा केही भएन होला तर विगतमा भन्दा बढी स्थानीय तहमा राम्रा काम भएका छन् । विगतमा केन्द्र सरकारसँग जानुपर्ने, योजना माग गरेर ल्याउनुपर्ने तर ३०÷४० प्रतिशत पनि काम नहुने । हामिले देखेका छौं त्यो अनियमितता, भ्रष्टाचार । त्यो चाँही बुझिदिनुप¥यो सबैले अहिले । 

जब हामीलाई प्रत्यक्ष रुपमा काम गर्नका लागि पैसा विनियोजन गरेर केन्द्र वा प्रदेश सरकारले दिओस् हामी त्यो काम शतप्रतिशत गरेर देखाउँनेछौं । देखाई पनि रहेका छौं । प्रदेशबाट आएको १ करोड बजेटबाट हामीले ट्रष्ट निर्माणको काम गरिरहेका छौं । कसैले देख्नुभएको छ कस्तो काम भएको छ भनेर ? रात दिन काम हुन्छ । 

यो काम स्थानीय तह मार्फत नगरिएको भए के हाल हुन्थ्यो होला ? तसर्थ अधिकार स्थानीय तहलाई दिएर मात्र हुँदैन हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्नुभएन । कसैले मुख खुम्च्याउनु पर्दैन, केन्द्र र प्रदेशले स्थानीय तहलाई अधिकार सम्पन्न हुन दिदैन केही न केही बाहना बनाएर हस्तक्षेप गरिरहन्छ ।

  • तपाई निर्वाचित भईसकेपश्चात महत्व दिएर लागि पर्नुभएको योजना र कामहरु कुन कुन हुन् ?

महत्व दिएको योजनाहरुमध्ये केपिलासगढी गाउँपालिकाको सबै वडासम्म पुग्ने बाटोघाटो निर्माणको काम लगभग पुरा भएको छ । स्थानीय तहले पीच गर्ने कार्य सम्भव छैन तरपनि कच्चि सडक निर्माण गरेका छौं । प्रत्येक वडा कार्यालय सम्म मोटर पुग्छ । प्रमुख काम यही हो । 

अर्को केपिलासगढी गाउँपालिकालाई जोड्ने तापखोलामा मोटरेबल पुलको सम्झौता गरेर काम सुरु गरिएको छ । सूर्य कन्ट्रक्सनले त्यसको जिम्मा लिएको छ भने अबको दुई वर्षभित्र पुल बनिसक्छ । १२ महिना यातायात सञ्चालन हुनेछ । शिक्षामा गुणस्तर, खानेपानी लगायतका योजनाहरुमै हामीले प्राथमिकता दिएका छौं । हामी जनप्रतिनिधिहरु प्रत्येक दिन शिक्षा क्षेत्रको अनुगमनमा जाने गरेका छौं । एक दिन पनि हामी बसेका छैनौं । शिक्षालाई गुणस्तरीय बनाउन लागि परिरहेका छौं । 

शिक्षालाई विकास सँग जोडेर ठूलै लगानी गरिरहेका छौं त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि लगानी गरिरहेका छौं । विगतको वर्षहरुमा औषधी अभाव हुने गरेको थियो । औषधी अभाव हुन नदिनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेर औषधी खरिद गर्दै आएका छौं । सूचना तथा सञ्चारको क्षेत्रको हकमा प्रत्येक वडासम्म इमेल इन्टरनेटको व्यवस्था गरेका छौं । प्रत्येक माध्यमिक विद्यालयमा इन्टरनेट जडान गरेका छौं । शिक्षाको कारणले मानिस पलायन हुन नपरोस भनेर प्रत्येक वडामा नमूना विद्यालय बनाएर शिक्षामा आमूल परिवर्तन गर्ने सोंच हाम्रो छ । 

  • आफूले गरेको कामलाई आफैले मूल्याङ्कन गर्नुपर्दा कति अंक दिन सक्नुहुन्छ ?

मैले आफूले गरेको काममा आफै उभिएर अंक दिनुपर्दा १०० मा ५० मात्र दिन्छु तर जनताले यो भन्दा बढी नै दिन्छन् ।

  • अन्त्यमा, गाउँपालिकाबासीलाई यहाँको सुझाव के छ ?

स्थानीय तह र संघीयतालाई अझ सबल बनाउनु चाहानुहुन्छ भने गाउँपालिकाले सञ्चालन गर्ने हरेक विकासको काममा सहभागि बन्नुहोस् । विकासका कुराहरुमा आम जनताले कति गर्ने भन्ने कुराहरु छन् । स साना कुराहरु पनि लिएर गाउँपालिका आउने गर्नुभएको छ, सुरुमा आफै गर्ने प्रत्यत्न गर्नुहोस् । 

गाउँपालिकाको मात्र सबै काम गर्न सक्ने सामथ्र्य छैन त्यसकारण सबै आम जनता लगायत, जनप्रतिनिधि, कर्मचारी सबैले हातेमालो गरेर विकासको काममा अघि बढ्यो भने केपिलासगढी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन सकिन्छ । सबैलाई मेरा आह्वान छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।



Saturday, June 1, 2019

(दुःखद खबर) सिभिल इन्जिनियर पढ्दै गरेका दुई विद्यार्थीको डुबेर मृत्यु

खोटाङ, १९ जेठ : खोटाङमा  भ्रमणमा गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको ज्यान गएको छ । दिक्तेल टेक्नीकल ईन्स्टिच्युट सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमबीच भएर बग्ने मेवाखोलास्थित १ मेगावाटको मेवाखोला हाईड्रोपावरमा प्राक्टीकलको लागि लगेको थियो ।

पौडी खेल्नेक्रममा डुवेर ज्यान जानेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका अन्दाजी १८ वर्षका अनिस केसी, र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको एक स्रोतले बताएको छ । घटनाको आधिकारीक जानकारी आउँन बाँकी रहेको छ ।