Saturday, February 22, 2020
Tuesday, February 18, 2020
पशु स्वास्थ्य शिविर सम्पन्न
साकेला (मानेभञ्ज्याङ) ६ फागुन– खोटाङको साकेला गाउँपालिकास्थित वडा नं. ५ मात्तिममा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार वडा कार्यालयको प्राङगणमा आयोजना गरिएको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी कृषकहरुले पशुपंक्षिहरुको निःशुल्क उपचार गराएका छन् ।
पशु शाखा संयोजक लोकेन्द्र फुयालका अनुसार शिविरमा ६ सय भन्दा बढी पशु तथा पंक्षिहरुमा लाग्ने विभिन्न रोग तथा परजीवि विरुद्धको औषधी वितरण गरिएको थियो । उक्त शिविरमा गाईभैसीमा लाग्ने थुनिलो रोग, नाम्ले, जुँका, फित्तेजुँका, बाहिर परिजीविको रुपमा जुम्रा, उपिँया, लुतो पंक्षिहरुमा लाग्ने हैजा, प्लोरोम डिजिज आदि रोगहरुको उपचार गरिएको थियो ।
त्यस्तै पशु शाखाले बाख्रा तथा भेडामा लाग्ने पिपिआर रोग विरुद्धको खोप समेत लगाई सकेको छ । गाउँपालिकाका पाँचै वटा वडामा करीव पाँच हजार खोप बाख्रा तथा भेडामा लगाएको संयोजक फुयालको भनाई छ । नेपाल सरकारको पिपिआर विरुद्धको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस पालिकामा माघ २६ गतेदेखि सो खोप अभियान सञ्चालन गरिएको थियो ।
![]() |
| शिविरमा औषधी वितरण गरिदै । |
![]() |
| पिपिआर खोप लगाउँदै । |
![]() |
| थुनिलो रेगको उपचार गर्दै । |
Sunday, February 16, 2020
योजना सम्झौताको काम ९५ प्रतिशत सम्पन्न
डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) ४ फागुन– भौतिक पूर्वाधार अन्तर्गत ९० वटा योजना सञ्चालन हुने साकेला गाउँपालिकाले हाल सम्म ९५ प्रतिशत योजना सम्झौताको काम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६/०७७ मा सञ्चालन हुने योजनाहरुमध्ये पाँच वटा योजनाको हालसम्म पनि योजना सम्झौता हुन सकेको छैन ।
उपभोक्ता समिति विवाद, जग्गा समस्या लगायतका कारण योजना सम्झौतामा कठिनाई भएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का झङ्कारले बताउनुभयो । २५ लाख रुपैयामा सञ्चालन हुने वडा नं. ४ स्थित नौलाखर्क–हुपापु–आहाले–मानेगाउँ–छाँगेखोला–धिप्लुङछाँगा सडक उपभोक्ता समिति गठन प्रक्रियामा विवाद हुँदा अहिलेसम्म पनि सम्झौता हुन सकेको छैन ।
यस विषयमा वडा कार्यालय र पालिकाकाको तर्फबाट पटक पटक विवाद समाधान गर्ने प्रयास गरिएको भएपनि विवाद सुल्झन नसकेपछि पालिकाले बोलपत्र आह्वानद्धारा ठेक्का बन्दोवस्त गरी निर्माण कार्य अघि बढाउने प्रक्रिया थालेको अध्यक्ष खड्काले बताउनुभयो ।
त्यस्तै पर्याप्त जग्गाको अभाव भएपछि वडा नं. १ स्थित बाँझे फँलाटे फुटवल खेल मैदानको पनि योजना सम्झौता हुन सकेको छैन । उक्त योजनाको लागि यस आर्थिक वर्षमा १० लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्यस्तै सिमा जग्गा एकिन नहुँदा ३ नं. वडा कार्यालयको घेराबार र मर्मत कार्यको पनि योजना सम्झौता हुन सकेको छैन । ४ लाख २५ हजार रुपैया बजेट विनियोजन भएको उक्त योजना जग्गाको स्पष्ट साँध छुट्टिएपछि मात्र अघि बढ्नेछ ।
यता जग्गा उपलब्ध नभएपछि २ लाख ५० हजार रुपैया विनियोजन भएको बरडाँडा–छितुवा–तावाखोला सडकको पनि योजना सम्झौता भएको छैन भने मुख्य पदाधिकारी बाहिर गएपछि ४ लाख ५० हजार रुपैया विनियोजन गरिएको पिचाकु मुहान हुँदै ४ नं. वडा कार्यालय सम्मको खानेपानी योजनाको काम सम्झौता हुन सकेको छैन । सम्झौता हुन बाँकी योजनाहरुलाई तत्काल सम्झौता गराई काम सम्पन्न गराउन पालिकाको तर्फबाट लागि परिरहेको अध्यक्ष खड्काको भनाई छ ।
यस वर्ष सम्झौता भएका कतिपय योजनाहरु सम्पन्न हुने क्रममा छन् भने १२ वटा योजनाहरुले काम सम्पन्न गरी फरफारक गराईसकेका छन् । फरफारक भईसकेका योजनाहरुमध्ये ४ नं. वडा कार्यालयको भवन निर्माण, २ नं. वडा अन्तर्गत मिन बहादुर डाँडा– जन्तरे आहाल सडक, वासिष्ट गोत्री देवालय वडा नं. ४, साकेला थान जोड्ने सडक ट्रयाक वडा नं. ५, जाल्पादेवी प्रवद्र्धन लामदुवाली वडा नं. २, ढाँडे–बोपुङ सडक वडा नं. ३, काउलेडाँडा–ओख्लीडाँडा–बाहुनडाँडा–वैशाखे सडक वडा नं. २ रहेका छन् ।
त्यस्तै, स्कुलडाँडा–गुरुङगाउँ सडक वडा नं. २, सुर्के समाज सुधार पानी पोखरी वडा नं. २, विसाउना खानेपाली मुहान संरक्षण वडा नं. २, स्वास्थ्य चौकी बाट पुछारटोल सडक निर्माण वडा नं. ३ र साकेलाथान तारघेराबारा वडा नं. ५ का योजना पनि फरफारक भईसकेको योजना शाखाका प्रमुख सन्तोष कुमार राईको भनाई छ ।
यता, सफ्टवेयरका काम अन्तर्गत १३ वटा योजनाको सम्झौता गर्न बाँकी छ भने शिक्षा तर्फको शशर्त बजेट अन्तर्गत ११ वटा योजनामध्ये १ वटा योजना सम्झौता गर्न बाँकी छ ।
Thursday, February 13, 2020
साकेलामा वार्षिक परीक्षा फागुन २७ देखि सुरु
डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) २ फागुन– साकेला गाउँपालिकाको २८ वटा सामुदायिक विद्यालयमा वार्षिक परीक्षा फागुन २७ गतेदेखि सञ्चालन गरिने भएको छ । हालै बसेको शिक्षा शाखा र प्रधानाध्यापकहरुको वैठकले पालिकास्तरीय कक्षा ८ को परीक्षा पनि सोही दिनदेखि सुरु गर्ने निर्णय गरेको छ ।
साकेला गाउँपालिकाका शिक्षा शाखा प्रमुख इन्द्र तामाङका अनुसार कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई एक सय प्रतिशतमा नै परीक्षा गराईनेछ । उक्त परीक्षा विहान ११ बजेदेखि गरिने तथा पालिकास्थित शिक्षा शाखाले सबै विद्यालयलाई परीक्षाको तालिका प्रदान गरिसकेको प्रमुख तामाङको भनाई छ ।
परीक्षाको लागि हाल पालिकास्तरबाट प्रश्नपत्र तयार गरिदैछ । करीव १ हजार ९ सय परीक्षार्थी सहभागि हुने उक्त वार्षिक परीक्षा चैत्र ५ गते सकिनेछ । विद्यालयलाई प्रदान गरिएको परीक्षा तालिका अनुसार फागुन २७ गते अंग्रेजी, २८ गते नेपाली, २९ गते विज्ञान, ३० गते सामाजिक, चैत्र २ गते गणित, ३ गते जनसंख्या, पेशा व्यवसाय र स्थानीय, ४ गते ऐ.प्रथम र ५ गते ऐ.द्धितीयको परीक्षा गराईने भएको छ ।
यस वर्षको वार्षिक परीक्षा अन्तर्गत कक्षा ८ को पालिका र अन्य तहहरुको उत्तरपुस्तिका विद्यालयमै परीक्षण गरिने बताईएको छ । त्यसैगरी चैत्र ६ गतेदेखि सञ्चालन हुने एसइइ परीक्षामा साकेला गाउँपालिकाबाट करीव ३ सय विद्यार्थी सहभागि हुने शिक्षा शाखाले जानकारी दिएको छ ।
साकेला गाउँपालिकामा दादुरा–रुबेला खोपको तयारी पुरा
डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) १ फागुन– ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान साकेला गाउँपालिकाले तयारी पुरा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आज बिहीबार खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफलको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
साकेला गाउँपालिकाको पाँचै वडामा फागुन १५ गतेदेखि २३ गतेसम्म यो अभियान सञ्चालन हुने स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिनुभयो । दादुरा रुबेला २०२३ सम्म अन्त्य गर्ने सरकारी लक्ष्य अनुसार यस पालिकाले पनि सो अभियान सञ्चालन गर्ने भएको हो ।
अभियानको क्रममा पालिकाभरीका ७३८ जना बालबालिकालाई यस खोप लगाउने लक्ष्य राखिएको हेल्थ असिस्टेण्ट शेखर राजवंशीले जनाउनुभयो । जसअन्तर्गत वडा नं. १ बाँझेच्यानडाँडामा १ सय ६५, वडा नं. २ रतन्छामा १ सय ४३ जना, वडा नं. ३ खिदिमामा १ सय ५९ जना, वडा नं. ४ मात्तिममा १ सय ५६ जना र वडा नं. ५ मात्तिमविर्तामा १ सय २४ जना बालबालिकाको तथ्याङ्क रहेको छ ।
यस अभियान पाँच वडाको ३६ स्थानमा खोपकेन्द्र राखिने छ भने ७२ जना स्वयमसेवक र ३६ जना खोप कार्यकर्ता परिचालन गर्ने तयारी भएको राजवंशीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष अर्जुन कुमार खड्काले अभियानलाई प्रभावकारी रुपमा लागू गर्न र कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थयकर्मीलाई सुझाव दिनुभएको छ । कार्यक्रममा उपाध्यक्ष सरीता खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
सन् २०१५ देखि दोश्रो मात्रामा दादुरा–रुबेला खोप अभियानको सुरुवात भएको थियो । यस अभियानबाट विफर रोगको उन्मूलन, बालमृत्युदर कम, मातृ तथा नवशिशु धनुष्टङकार निवारण, जापानिज इन्सेफलाईटिस नियन्त्रण, रुबेला तथा सिआरएस नियन्त्रण, हेपाटाईटिस वी नियन्त्रण लगायतका रोगहरु उन्मूलन भएका छन् ।
सन् २०१५ देखि दोश्रो मात्रामा दादुरा–रुबेला खोप अभियानको सुरुवात भएको थियो । यस अभियानबाट विफर रोगको उन्मूलन, बालमृत्युदर कम, मातृ तथा नवशिशु धनुष्टङकार निवारण, जापानिज इन्सेफलाईटिस नियन्त्रण, रुबेला तथा सिआरएस नियन्त्रण, हेपाटाईटिस वी नियन्त्रण लगायतका रोगहरु उन्मूलन भएका छन् ।
![]() |
| अन्तरक्रियामा सह |
![]() |
| अन्तरक्रियामा सहभागिहरु । |
Wednesday, February 12, 2020
साकेला गाउँपालिकाले ल्यायो सहकारी ऐन
डिएम चाम्लिङ राई
साकेला (मानेभञ्ज्याङ) २९ माघ– साकेला गाउँपालिकाको आठौ गाउँसभाले सहकारी ऐन २०७६ विधिवत रुपमा पारित गरेको छ । विभिन्न ऐन तथा नियमहरु ल्याईसकेको गाउँपालिकाले मानेभञ्ज्याङमा बुधबार आयोजना गरेको गाउँसभा सदस्यको बहुमतबाट उक्त ऐन ल्याएको हो ।
![]() |
| गाउँसभामा सरीक अध्यक्ष र उपाध्यक्ष |
सहकारी संस्था दर्ता, नियमन, नियन्त्रण तथा व्यवस्थापनका लागि उक्त ऐनको प्रावधानमा रही कार्य गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जानकारी दिनुभयो । गाउँपालिकाको क्षेत्राधिकारमा सञ्चालन गर्ने गरी सहकारी ऐन ल्याईएको हो, अध्यक्ष खड्काले भन्नुभयो –‘गाउँपालिकाभित्र सञ्चालन भईरहेका र नयाँ सञ्चालन हुने सहकारीहरुलाई यही ऐन अनुसार नियमन र नियन्त्रण गरिनेछ ।’
कार्यपालिका सदस्य मिलन चाहारद्धारा प्रस्तुत सहकारी ऐनलाई ४ नं. वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईद्धारा समर्थन भएको उक्त ऐनमाथि अन्य सदस्यहरुले पनि समर्थन गरेपछि ऐनले पूर्णता पाएको छ । साकेला गाउँपालिकामा हाल पाँच वटा सहकारी सञ्चालनमा रहेका छन् ।
![]() |
| आठौ गाउँसभापश्चात सामूहिक तस्विर खिचाउँदै कार्यपालिका सदस्य तथा कर्मचारीहरु । |
![]() |
| गाउँसभा सुरुहुँदैगर्दा राष्ट्रिय गानमा सरिक अध्यक्ष अर्जुनकुमार खड्का र उपाध्यक्ष सरीता खड्का । |
![]() |
| गाउँसभामा सहकारी एेन प्रस्तुत गर्नुहुँदै कार्यपालिका सदस्य मिलन चाहार । |
Subscribe to:
Comments (Atom)
-
खोटाङ, २२ भदौ/ खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार १५० घरधुरी स्थ...












