Saturday, February 1, 2025

राष्ट्रपति रनिङ शिल्डको उपाधि राधाकृष्ण माविले उचाल्यो (विजेताको नामावली सहित)

 


साकेला÷साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी राधाकृष्ण मावि बाँझेच्यानडाँडाले चुमेको छ । गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयबीच गत बुधबारदेखि गराईएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ काँस्य पदक सहित साकेला गाउँपालिका-१ मा सञ्चालित राधाकृष्ण मावि प्रथम भएको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जित्दै साकेला गाउँपालिका-२ रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालय दोश्रो भएको छ भने पाँच स्वर्ण, छ रजत र सात काँस्य पदक जित्दै बालबालिका माध्यमिक विद्यालय मात्तिम नौलाखर्क तेश्रो हुन सफल भएको छ ।

राधाकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ १६ गते बुधबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा तीन स्वर्ण, एक रजत र तीन काँस्य पदक जितेर सरस्वती मावि मात्तिमबिर्ता चौथो, दुई स्वर्ण, पाँच रजत र चार काँस्य पदक जितेको सिद्देश्वरी मावि खिदिमा पाँचौ र यसै वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ एक काँस्य पदक जितेर छैठौं हुन सफल भएको छ ।गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का वडाअध्यक्ष हेमन राई र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

सहभागि विद्यालय तथा खेलाडीलाई बधाई ज्ञापन गर्ने क्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकाय सम्म पुर्याउन प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन प्रतिवद्ध भएको र खेलाडीहरुले आफ्नो विद्यालयको मात्र नभई समग्र पालिकाको प्रतिष्ठाको लागि खेल खेल्न आग्रह गर्नुभयो ।

प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिङ थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र-छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रअ हिराधन गुरुङले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।

प्रतियोगितामामा सहभागि भई स्वर्ण, रजत र काँस्य पदक प्राप्‍त गर्ने विद्यालय तथा विद्यार्थी विवरण यस प्रकार रहेका छन् ।

भलिवल- छात्रतर्फ

सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता- स्वर्ण

सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा- रजत

राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा- काँस्य

भलिवल छात्रातर्फ

साकेला माध्यमिक विद्यालय रतन्छा- स्वर्ण

सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा- रजत

सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता- काँस्य

हाईजम्प- छात्रतर्फ

राधाकृष्ण माविका सुसन कटवाल- स्वर्ण

सिद्धेश्वरी मावि खिदिमाका मनिस तामाङ- रजत

बालबालिका माविका सन्दिप विक- काँस्य

हाईजम्प- छात्रातर्फ

बालबालिका माविकी परिता राई- स्वर्ण

राधाकृष्ण माविकी भीम कुमारी गुरुङ- रजत

साकेला माविकी तारा गुरुङ –काँस्य

लङजम्प-छात्रतर्फ

राधाकृष्ण माविका अर्जुन राई- स्वर्ण

साकेला माविका सुनिम राई- रजत

सिद्धेश्वरी माविका युनेश राई- काँस्य

लङजम्प- छात्रातर्फ

सिद्धेश्वरी माविकी समिता तामाङ- स्वर्ण

राधाकृष्ण माविकी अनुष्का राई- रजत

बालबालिका माविकी परिता राई- काँस्य

उफ्रने र फ्याँक्ने- सटफुट १२ पाउण्ड- छात्र

बालबालिका माविका रोजन मगर- स्वर्ण

सरस्वती माविका विकल राई- रजत

बालबालिका माविका सन्दिप विक- काँस्य

उफ्रने र फ्याँक्ने- सटफुट ८ पाउण्ड- छात्रा

सिद्धेश्वरी माविकी शान्तिकला राई- स्वर्ण

सिद्धेश्वरी माविकी समिता तामाङ- रजत

साकेला माविकी तेजिना गुरुङ- काँस्य

१०० मिटर दौड- छात्र

सरस्वती माविका प्रज्वल राई- स्वर्ण

साकेला माविका पारस राई- रजत

सिद्धेश्वरी माविका गौतम तामाङ- काँस्य

१०० मिटर दौड- छात्रा

राधाकृष्ण माविकी बिपना दर्नाल- स्वर्ण

राधाकृष्ण माविकी सलिना गुरुङ- रजत

बालबालिका माविकी सुनिता दाहाल- काँस्य

२०० मिटर दौड- छात्र

साकेला माविका सुनिम राई- स्वर्ण

बालबालिका माविका अभिषेक राई- रजत

सरस्वती माविका प्रज्वल राई- काँस्य

२०० मिटर दौड- छात्रा

राधाकृष्ण माविकी गिता भुजेल- स्वर्ण

साकेला माविकी एलिका राई- रजत

सिद्धेश्वरी माविकी सुस्मिता राई- काँस्य

४०० मिटर दौड- छात्रतर्फ

बालबालिका माविका अभिषेक राई- स्वर्ण

राधाकृष्ण माविका धुर्व बुढाथोकी- रजत

सरस्वती माविका स्वरुप राई- काँस्य

४०० मिटर दौड- छात्रातर्फ

बालबालिका माविकी जेनिशा तामाङ- स्वर्ण

साकेला माविकी सरला गुरुङ- रजत

साकेला माविकी बिना गुरुङ- काँस्य

८०० मिटर दौड- छात्रतर्फ

राधाकृष्ण माविका रुद्र देउजा- स्वर्ण

बालबालिका माविका अनिल तामाङ- रजत

बालबालिका माविका दल बहादुर सुनार- काँस्य

८०० मिटर दौड- छात्रातर्फ

साकेला माविकी अनुका राई- स्वर्ण

राधाकृष्ण माविकी अनुस्का राई- रजत

बालबालिका माविकी कमला सुनार –काँस्य

१५०० मिटर दौड- छात्रतर्फ

राधाकृष्ण माविका रुद्र देउजा- स्वर्ण

सिद्धेश्वरी माविका पुनम राई- रजत

बालबालिका माविका अनिल तामाङ- काँस्य

१५०० मिटर दौड- छात्रातर्फ

बालबालिका माविकी परिता राई- स्वर्ण

साकेला माविकी रोहिता राई- रजत

रिले ४x१०० मिटर- छात्रतर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

बालबालिका माध्यमिक विद्यालय- रजत

राधाकृष्ण माध्यमिक विद्यालय- काँस्य

रिले ४x१०० मिटर- छात्रातर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

राधाकृष्ण माध्यमिक विद्यालय- रजत

चण्डेश्वरी माध्यमिक विद्यालय- काँस्य

रिले ४x४०० मिटर- छात्रतर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

बालबालिका माध्यमिक विद्यालय- रजत

राधाकृष्ण माध्यमिक विद्यालय- काँस्य

रिले ४x४०० मिटर- छात्रातर्फ

साकेला माध्यमिक विद्यालय- स्वर्ण

राधाकृष्ण माध्यमिक विद्यालय- रजत

बालबालिका माध्यमिक विद्यालय- काँस्य

ज्यावलिङ थ्रो- छात्रतर्फ

सरस्वती माविका किरण राई- स्वर्ण

साकेला माविका समर्पण राई- रजत

राधाकृष्ण माविका रुद्र देउजा- काँस्य

ज्यावलिङ थ्रो- छात्रा तर्फ

राधाकृष्ण माविकी बिना गुरुङ- स्वर्ण

साकेला माविकी सुमिला तामाङ- रजत

साकेला माविकी तेजिना गुरुङ- काँस्य

 

 

Thursday, January 30, 2025

जातजातिबीचको एकतालाई सुदृढ गर्न सके आर्थिक र सामाजिक रुपमा समृद्ध बन्न सकिन्छ- अध्यक्ष राई

 


१७ माघ २०८१/साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले सबै जातजाति, धर्मसंस्कृति, भेषभुषा र विविधतालाई सम्मान गर्दै सांस्कृतिक विकास गरि समृद्ध समाज निर्माण गर्न सकिने कुरामा जोड दिनुभएको छ । नियाङ्ला गुम्बा साकेला-३ खिदिमा खोटाङको आयोजनामा भएको मञ्जुश्री सम्बत २८६१ सोनाम ल्होछार पर्व मनाउने क्रममा शुभकामना आदन-प्रदान कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा आफ्नो भनाई राख्नुहुँदै अध्यक्ष राईले साकेला गाउँपालिका सरकार सबै जातजातिको धर्मसंस्कार र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । सोनाम ल्होछार पर्वले सबै जातजाती बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध पालिका हुँदै समृद्ध देश निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, अध्यक्ष राईले भन्नुभएको छ । सो अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्र रहेका १३ वटा जातजातीको धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न योजना बनाएर पालिका सरकार लागिरहेको उल्लेख गर्नुभयो ।

सडक र भवन बन्नु मात्र विकास होईन, सबै जातजातीको संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु पनि साँस्कृतिक विकास हो, सबै प्रकारको विकास गर्नसके मात्र समृद्ध साकेला देशकै नमूना बनाउन सकिने अध्यक्ष राईले उल्लेख गर्नुभयो । साकेला गाउँपालिकाले जातजाती, धर्मसँस्कृतिमा आधारित भएर चित्रकलाको माध्यमद्वारा गाउँपालिकालाई चिनाउने अभियानमा समेत लागेको स्मरण गराउनुभयो । गाउँपालिकाले विभिन्न स्थानका भित्ता तथा ढुङ्गामा चित्रकलाको माध्यमद्वारा विभिन्न धर्मसँग सम्बन्धित देवीदेवताको चित्र बनाउन सुरु गरेको छ । यसै सन्दर्भमा अध्यक्ष राईले थप्नुभयो- हेर्दा सामान्य लाग्न सक्छ तर पालिकाले विभिन्न धर्मको सम्मानको लागि यो काम गरिरहेको छ, पालिकाले गरेको सकारात्मक विकासका कार्यमा सबै नागरिकको साथको आवश्यक छ ।

नियाङ्ला गुम्बा व्यवस्थापन समिति अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का, नेपाली काँग्रेस प्रदेश समिति सदस्य शान्तिकला राई, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा साकेला गाउँपालिका ईन्चार्ज प्रभात विक्रम कटवाल लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औं वर्ष सुरु हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरुको भनाई छ ।

Wednesday, January 29, 2025

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव



१६ माघ २०८१/साकेला÷साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन गाउँपालिका सरकार प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास भईरहँदा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउनुहुँदै अध्यक्ष राईले पालिकाको खेल जगतलाई माथि उठाउनको लागि संस्थागत रुपमा लागि पर्ने कुरा बताउनुभएको हो ।

साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि साकेला गाउँपालिकाको वडा नम्बर १ स्थित बाँझे खेलमैदानमा सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो । पालिकास्तरीय छनौट खेलहुँदै जिल्ला, प्रदेश र संघ सम्म हुने प्रतियोगितामा पुगेर साकेला गाउँपालिकाको नाम उच्च राख्न अध्यक्ष राईले सम्पूर्ण खेलाडि विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो ।



अध्यक्ष राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । अर्को प्रशंगमा अध्यक्ष राईले पालिकामा हुने थुप्रै भौतिक विकासको कामहरुमा अवरोध हुने गरेको, गाउँपालिकाको विकासको लागि आएको योजनाहरु कटौती गरेर समृद्ध पालिका निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- पालिकामा हुने थुप्रै विकासे योजना असफल बनाउन केही व्यक्तिहरु लागिरहेका छन्, यसप्रति तपाईहामी सबै नागरिक सचेत भएर विकास विरोधीको भण्डाफोर गर्नुपर्छ । विकासमा हुने अवरोधले हामीले देखेको साकेला गाउँपालिकाको समृद्धिको सपना पुरा हुँदैन, समृद्ध पालिका निर्माणका लागि सबै तह र तप्काका व्यक्ति व्यक्तित्व एकजुट भएर लागि पर्नुपर्ने आवश्यकता भएको अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक विकास र गतिविधिहरुमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।



साकेला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेमन राईको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी शुक्रबार सम्म सञ्चालन हुने जनाईएको छ । पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी,  हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रधानाध्यापक हिराधन गुरुङलले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।



 राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने समय तालिका टुङ्गो लागेको छैन ।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँगै प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, निर्वाचित जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

Monday, June 8, 2020

साकेलामा बजार अनुगमन

मानेभञ्ज्याङ्ग, जेठ २६– साकेला गाउँपालिकाको कार्यालयको संयोजनमा सोमबार मानेभञ्ज्याङ्गमा बजार अनुगमन गरिएको छ । म्याद गुज्रीएको खाद्यवस्तु तथा औषधी विक्रि वितरण भईरहेको गुनासो आएपछि भानेभञ्ज्याङ्गका दर्जनबढी होलसेल तथा खुद्रा पसलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा म्याद गुज्रीएका टप विस्कुट, आईसपप, किन्डर बल्स, रारा चाउचाउ, मेमोरी बिस्कुट, मिक्स मसला, बटर कुकिज, कुरमुरे, पोटेटो क्रेकर, सुसेली, मिटमसला तथा केही औषधी बरामद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताउनुभयो ।

यसरी बरामद गरिएको अखाद्य वस्तुलाई प्रमुख प्रशासकीय अधिकृत रबिन मगर, सामाजिक विकास अधिकृत दुर्गबहादुर राई, इलाका प्रहरी कार्यालय मात्तिमका प्रमुख शम्भु प्रसाद पौडेल, स्वास्थ्य शाखा संयोजक रिता ढकाल, उद्योग वाणिज्य संघ साकेला शाखाका अध्यक्ष चन्द्र बहादुर कटवाल, हेल्थ असिस्टेण्ड शेखरकुमार राजवंशी, प्रशासन शाखा खरिदार सुवास राई लगायतको रोहबरमा जलाएर नष्ट गरिएको छ । 

अखाद्य वस्तुलाई नष्ट गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगर ।

Monday, March 30, 2020

स्वास्थ्य सम्बन्धि अत्यावश्यक समाग्री खरिद

साकेला (मानेभञ्ज्याङ) १८ चैत्र– 
खोटाङको साकेला गाउँपालिकामा कोरोना रोग नियन्त्रण सम्बन्धि अति आवश्यकीय समाग्रीहरु ल्याईएको छ । रोग फैलन नदिन पछिल्लो समय गाउँपालिकाले सो समाग्रीहरु खरिद गरेर ल्याएको हो । पालिकाले पिपिई ३२ थान, माक्स ख्द्धद्धंं २ सय थान, सर्जिकल माक्स ७८० थान, कपडाको माक्स ३५० थान, सेनिटाईजर १५० पिस, सर्जिकल ग्लेब्स ५ हजार, होम ग्लोब्स १०० थान, रियुजेवल ग्लेब्स ५ सय थान खरिद गरेको हो । 

त्यस्तै वाईब्स २० बट्टा, सेनिटाईजर बनाउने केमिकलहरु, डिस इन्फेक्टेण्ड सोलुसन र पम्प, इन्फ्रारेड थर्मोमिटर ३ पिस, डिजिटल थर्मोमिटर २७ थान, हेड कभर, फुड कभर, सेफ्टी चस्मा समेत खरिद गरी ल्याएको हो । यसरी ल्याईएको स्वास्थ्य समाग्रीहरु सम्बन्धित वडाको स्वास्थ्य चौकी तथा पालिकाभित्र स्थापना गरिएको हेल्प डेक्स र क्वारेन्टाईनमा पठाईएको छ । कोरोना रोग सम्बन्धि समस्या हुन नदिन पालिकाले उक्त समाग्रीहरु ल्याएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताउनुभयो ।

यहाँको वडा नं. १ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा ५ शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । वडा नं. २ रतन्छास्थित साकेला मावि र वडा नं. ४ स्थित बालबालिका माविमा दश÷दश शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ भने साकेला गाउँपालिकाले वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. ३ खिदिमाको तावाभञ्ज्याङ्ग र वडा नं. ५ मात्तिमको डाँडाटोलमा हेल्पडेक्स स्थापना गरिएको छ ।



Sunday, March 29, 2020

साकेलामा विदेशबाट फर्किएका एक जना क्वारेन्टाईनमा

साकेला (मानेभञ्ज्याङ) १६ चैत्र– 
यहाँको साकेला गाउँपालिकामा विदेश बाट फर्किएका एक जनालाई क्वारेन्टाईनमा राखिएको छ । साकेला गाउँपालिका वडा नं. २ स्थित रतन्छाका २६ वर्षीय सुरेश परियारलाई क्वारेन्टाईनमा राखिएको वडाध्यक्ष उन्नत राईले जानकारी दिनुभयोे । उनि गत फागुन २९ गतेको उडानमा दुबईबाट आएका हुन् । उनको अवस्था सामान्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

त्यसैगरी साकेला गाउँपालिकाले कोभिड–१९ कोरोना रोग भित्रन नदिन स्वयमसेवक स्वास्थ्यकर्मी परिचालन गरेको छ । गत चैत्र १३ गतेको कार्यपालिकाकाे बैठकको निर्णय अनुसार आईतबार देखि पालिकाले ११ जना स्वयमसेवक स्वास्थ्यकर्मी परिचालन गरेको हो । उनिहरुलाई पालिकाभित्र स्थापना गरिएका हेल्पडेक्स तथा क्वारेन्टाईनमा परिचालन गरिएको छ । 

पर्याप्त स्वास्थ्यकर्मी नभएपछि पालिकाले करार अवधि सकिएर तथा अध्ययन गरेर घरै बसिरहेका स्वास्थ्यकर्मी परिचालन गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताउनुभयोे । वडा नं. १ बाँझेच्यानडाँडामा ४ जना, वडा नं. २ रतन्छामा १ जना, वडा नं. ३ खिदिमामा २ जना, वडा नं. ४ मात्तिममा ३ जना र वडा नं. ५ मा १ जना स्वास्थ्यकर्मी परिचालन गरिएको हो । 

उता साकेलाको वडा नं. १ स्थित राधाकृष्ण माध्यमिक विद्यालयमा ५ शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । यसअघि वडा नं. २ रतन्छास्थित साकेला मावि र वडा नं. ४ स्थित बालबालिका माविमा दश/दश शैयाको क्वारेन्टाईन स्थापना गरिसकिएको छ । साकेला गाउँपालिकाले वडा नं. १ बाँझेच्यानडाँडा, वडा नं. ३ खिदिमाको तावाभञ्ज्याङ्ग र वडा नं. ५ मात्तिमको डाँडाटोलमा हेल्पडेक्स स्थापना गरिएको छ ।