Thursday, May 30, 2019

खोटाङका कुन स्थानीय तहलाई कति बजेट ?

खोटाङ (१७ जेठ) : खोटाङका १० स्थानीय तहले आर्थिक वर्ष २०७६÷०७७ का लागि साँढे २ अर्बभन्दा बढि अनुदान प्राप्त गरेको छ । नेपाल सरकारले बुधबार सार्वजनिक गरेको बजेट भाषण अनुशार दुई नगरपालिका र आठ गाउँपालिकाले अनुमानित २ अर्ब ५६ करोड ५५ लाख केन्द्रीय अनुदान पाएको हो । 

सरकारको बजेट अनुशार सबैभन्दा बढि अनुदान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम साकेला गाउँपालिकाले प्राप्त गरेको १ नम्बर प्रदेशकी सभाषद उषाकला राईले बताईन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वित्तीय समानीकरणतर्फ १४ करोड ५७ लाख र सशर्त अनुदानतर्फ ३२ करोड ५६ लाख, हलेसी तुवाचुङ नगरपालिकाले वित्तीय समानीकरणतर्फ १० करोड ७५ लाख र सशर्ततर्फ २४ करोड ९५ लाख, ऐसेलुखर्क गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५८ लाख र सशर्ततर्फ १५ करोड ४९ लाख, 

केपीलासगढी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ५५ लाख र सशर्ततर्फ १३ करोड १३ लाख, खोटेहाङ गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २९ लाख र सशर्ततर्फ १७ करोड ९७ लाख अनुदान पाएको छ । 

यस्तै, जन्तेढुंगा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ४५ लाख र सशर्ततर्फ १४ करोड १७ लाख, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ९ करोड २ लाख र सशर्ततर्फ १७ करोड ४३ लाख, रावाबेँसी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड १५ लाख र सशर्ततर्फ १२ करोड ३० लाख, 

बराहपोखरी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ७ करोड ३३ लाख र सशर्ततर्फ १० करोड ८८ लाख तथा साकेला गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ६ करोड ९० लाख र सशर्ततर्फ १० करोड ८ लाख अनुदान पाएको नेकपा नेतृ राईले बताईन् । 





आफ्नै भवनमा हलेसी चुवाचुङ नगरपालिका

खोटाङ, जेठ १७– खोटाङको हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा सरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहिबारदेखि कामकाज थालिएको मेयर इवन राईले बताउनुभयो । 

स्थानीयले निशुल्क दिएको जग्गामा ७० लाखभन्दा बढिको खर्चमा एल आकारको १५ कोठे भवन निर्माण गरिएको हो । स्थानीय पटमराज राई, भगसेर राई, मोहनबहादुर राई र डिकसेर राईले निशुल्क दिएको जग्गामा नगरपालिकाको कार्यालय निर्माण गरिएको हो । हालसम्म तत्कालिन गाबिसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सारेपछि सेवा प्रवाह सहज भएको छ । 


शिक्षक निलम्बन गर्ने नगरपालिकाको निर्णय

खोटाङ, जेठ १६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको छ । तोकिएको जिम्मेवारी पूरा नगनरेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई र इच्छाराम राईलाई नगर कार्यपालिकाको बिहिबारको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । दायित्वच्यूत भएको जनगुनासोका आधारमा शिक्षकलाई संघीय तथा नगर शिक्षा नियमावली अनुशार निलम्बन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको मेयर इवन राईले बताए । 
विद्यालयमा नियमति हाजिर नहुने, पटक–पटक मापसे गरेर बिद्यालय जाने, व्यवस्थापन समिति र प्रअलाई अटेर्ने लगायतका गैर–जिम्मेवार क्रियाकलाप देखाएको भन्दै अभिभावक पटक–पटक डेलीगेसन आएको आधारमा शिक्षकलाई निलम्बन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

शैक्षिक–सत्र २०७६ लाई शैक्षिक सुधार वर्षकारुपमा रुपान्तरण गर्ने प्रतिवद्धता जुटाएको नगरपालिका शिक्षकप्रति आक्रामक बनेको हो । पदीय जिम्मेवारी पूरा नगरेकाका दुई शिक्षकमाथि अवकाशको प्रकृया थालिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । ‘यो अवकाशको पहिलो चरण हो । पूर्ण अवकाश होईन,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने, ‘छानबीनकाक्रममा अवकाश दिन नपर्ने अवस्था देखिए पुःन उहाँहरु आफ्नो जिम्मेवारीमा फर्कनुहुने छ ।’ 

व्यवस्थापन समितिको बैठक बसिरहेकाक्रममा प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गर्दा शिक्षक खेमराजलाई बैसाख २७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आक्रमण रोक्न खोज्दा वडा सदस्य फलामसिं राईको खुट्टामा सामान्य चोट लागेको नगरपालिकाले जनाएको छ । 


Thursday, May 23, 2019

शंकास्पद अवस्थामा महिला मृत फेला

खोटाङ, जेठ १० : खोटाङमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे डाँडाघरकी सरस्वती राई मृत फेला परेकी हुन् । जन्तेढुंगा गाउँपालिका–२ बोपुङ माईती घर भएकी राई बुधबार निभारोकोरुखमा झुण्डिएको अवस्थामा फेला परेको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए । 

मृतकको शरीमा निलडाम देखिएकाले राईको कुटपिटपछि हत्या गरिएको वा यातनाका कारण आत्महत्या गरेको आफन्तले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा ल्याइएको छ । शुक्रबार पोष्टमार्टम गरेर शव आफन्तलाई जिम्मा दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । राईको मृत्युलाई आफन्तले शंकास्पद मानेका छन् । 



Saturday, May 18, 2019

खानेपानीमै चरम विभेद र विवाद

खोटाङ ५ जेठ । विभिन्न जातजाती, भाषाभाषी, राजनीतिक आस्था, संस्कार सँस्कृति र धर्म पर्वको मिलन केन्द्र हो– खोटाङ । तर त्यहीँ खोटाङमा खानेपानीमा समेत विभेद छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ ।

तर, तपाई हलेसी नगरपालिकास्थित वडा–३ च्यास्मिटार, बालम्बारी पुग्नु भयो भने कसैले सरकारी योजनाको पानी पिइरहेको त कसैले पिउन नै नपाएको दृश्य देख्न सक्नुहुन्छ । त्यो पनि २२ घरधुरी रहेको बालम्बारीमा चार घरधुरीको उपस्थितिमा आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी पिइरहेका छन् भने अन्य १८ घर परिवारलाई पुरै वञ्चित गरिएको छ ।

४ घरधुरीबाट पानीको विभेदमा परेका १८ घर परिवार मध्येका एक सदस्यले आफूहरुले पानी माग्दा हामीलाई मात्र आएको भन्दै नदिएको गुनासो गरे । ‘सरकारी बजेट सही सदुपयोग हुनपर्यो, १८ घर परिवार वञ्चित हुने चार परिवारले मनोमानी गर्ने भएन’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।

चार घर परिवार मिलेर बालम्बारी खानेपानी योजना नामक उपभोक्ता समिति गठन गरेका थिए । उनीहरूले पुरै गाउँको सहमतिमा समिति गठन भएको भन्दै वडा अध्यक्ष भलाराज राईलाई नगरपालिका समक्ष सिफारिस गरिदिन आग्रह गरेका थिए । वडाअध्यक्षले पनि सिफारिस गरेको पाइएको छ । तर, समितिमा भने चार परिवारका नातागोता मात्र राखिएको पाइएको छ, गाउँको सहमति पनि नगरेको र योजना ल्याएपछि पानी खान पिउन पनि नदिएको पाइएको छ ।

वडा अध्यक्ष भलराज राईले आफूले खानेपानीमा विवाद रहेको र मिलाउन पहल गर्दा नसकेको बताए । ‘उहाँहरुले उपभोक्ता समिति गठन गरेर आउनु भयो, मैले त गाउँ मिलेर नै होला भनेर नगरपालिकामा सिफारिस गरे, तर पछि बजेट निकासापछि मात्र थाहा पाएँ, गैरकानुनी ढंगले समिति गठन गर्नु भएको छ, मलाई यसमा फसाइयो हजुर ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने । वडा अध्यक्ष राईले आफूले मिलाउन पहल गर्दा नसकेपछि न्यायिक समितिमा सिफारिस गरेको जनाए ।

सब इन्जिनियर अग्निराज राईले तयार पारेको लागत रकम अनुसार खानेपानी योजनाको लागत १० लाख ९५ हजार २ सय ५ राखिएको छ । त्यसमा नगरपालिकाबाट ८ लाख ८८ हजार ६ सय ५४ रहेको छ भने लाभग्राहीबाट २ लाख ६ हजार ५ सय ५० राखिएको छ । नगरपालिकाले बजेट किस्तामा उपलब्ध गराउनुपर्नेमा एकैचोटी रकम उपलब्ध गराएको स्रोत बताउँछ । विवाद सिर्जना हुनुमा नगरपालिकाको उच्च नेतृत्व पनि संलग्न रहेको स्थानीयले आशंका गरेका छन् ।


Thursday, May 16, 2019

मंगलटारलाई उज्ज्यालो वडा घोषणा

खोटाङ, ३ जेठ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत मंगलटार वडाभरी केन्द्रीय प्रसारण लाईनको विधुत बिस्तार भएपछि उज्यालो वडा घोषणा गरिएको हो । वर्षौदेखी अध्याँरोमा बसेका स्थानीयहरु बिजुली बलेसँगै हर्षित भएका छन् ।

नगरपालिकाको १ करोड ९० लाख लागत र नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा बिस्तार गरिएको विधुतको बिहीबार एक कार्यक्रमगरी नगर प्रमुख इवन राई र उपप्रमुख विमला राईले एकसाथ बिजुली बत्तीको स्वीच थिचेर उज्यालो वडा घोषणा गरेका हुन् ।

४ सय १८ घरधुरीमा विधुत पुगे पनि केही घरहरुमा प्राविधिक कारण बिजुली बल्न बाँकी छ । बिजुली बलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ ।

खरिद गरिएको विधुतीय सामग्रीले मंगलटारमा बिधुत विस्तार सकिएपछि उभ्रिएको ५० लाख बराबरको बाँकी विधुतीय सामग्री बाहुनीडाँडा, बडहरे, धितुङ र सल्लेलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । यहि आर्थिक वर्षमा बडहरेमा विधुत बिस्तार गरी सकिने नगरको लक्ष्य रहेको छ ।

बिजुली बिस्तार गर्न बाँकी डिकुवा, बाहुनीडाँडा च्यास्मिटारमा डिपिआरको रिपोर्ट अनुसार आउने आर्थिक वर्षमा योजना लगाएर आउने आर्थिक वर्षमै योजना सम्पन्न गर्ने तयारीमा नगरपालिका तीव्र रुपमा लागि परेको छ ।

नगरपालिकाको कतिपय बाँकी रहेका वडाहरुमा छिट्फुट रुपमा विधुत विस्तार गर्न बाँकी रहेकाले केही वडामा यहि वर्ष र आउने आर्थिक वर्षसम्ममा सवैमा काम सम्पन्न गर्नेगरी प्राधिकरणको सहयोग लिएर काम भइरहेको नगर प्रमुख राईले बताए ।





Wednesday, May 15, 2019

छोरी बलात्कारमा संलग्न बाबु प्रहरी खोरमा

खोटाङ, जेठ २ – खोटाङमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन् । आफ्नै ९ वर्षीय नावालिका छोरीलाई जवरजस्ती करण गरेको अभियोगमा ५० वर्षीय बाबु दुखीलाल (परिवर्तित नाम) पक्राउ परेका हुन् । 

नाबालिका छोरीलाई बलात्कार गरेको सूचना मंगलबार प्राप्त भएपछि बलात्कारी बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ । उनीमाथि चैत्र २८ गते राती आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग छ । 



Sunday, May 12, 2019

किरावि संघको केन्द्रीय समितिमा नयाँ नेतृत्व

३० वैशाख (खोटाङ)– किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्षमा जितेन राई निर्वाचित भएका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ–नगर लागौं’ भन्ने नारासहित खोटाङमा आइतबार सम्पन्न नवौं सम्मेलनले ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुक्मिन राई, महासचिवमा रविन राई, सचिवमा प्रवीणा राई र दीपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

आयोजक समितिबाट २३ जना र विभिन्न भूगोलबाट ३४ जना समावेश गरेर ५७ जनाको केन्द्रीय परिषद् बनाएपछि त्यही परिषद्बाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था भए पनि आकांक्षी बढी भएपछि मतदान गराइएको थियो । आयोजक समितिबाट निर्वाचनका माध्यमबाट २३ जना प्रतिनिधिको टुंगो लगाएपछि नयाँ नेतृत्व भने सहमतीमा चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।


सम्मेलनले संघको प्रचार प्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक बिभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण विभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति विभागमा समीप साम्पाङ, अनुशासन विभागमा डार्बिन राई, महिला विभाग प्रमुखमा सुशीला राई चयन भएका छन् । 

यस्तै संगठन बिभाग प्रमुख उदिम चाम्लिङ, स्वयंसेवक विभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सीताराम राई र विदेश विभाग प्रमुखमा सुमन राई चयन भएका छन् । सुदिप थुलुङ राई, तिलक राई, ममता राई, बिसा बिख्याती राई, इसाक राई, दीपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नवीन राई, वसन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् ।

चट्याङले आठ घाईते

३० वैशाख (खोटाङ)–असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ घाईते भएका छन् । आईतबार साँझ एउटै टोलमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका बिष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कट्वाल, खेमकुमारी कट्वाल, पदमकुमारी कट्वाल र मिना कट्वाल घाईते भएका हुन् । 

चट्याङ लागेपछि घाईते भएकामध्ये खेमकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । अन्य भने उपचारपछि सोमबार बिहान डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताए । घाईतेलाई आईतबार साँझ अस्पतालमा ल्याइएको थियो । खेमकुमारीको श्वास–प्रस्वासमा समस्या देखिएपछि उपचारमै राखिएको प्रहरीले जनाएको छ । 



Saturday, May 11, 2019

खोटाङमा ढुंगाले लागेर युवकको मृत्यु

२९ वैशाख (खोटाङ)- गिटी कुटिरहेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा खोटाङमा एक युवकको मृत्यु भएको छ । 

कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले जानकारी दिए ।

शनिवार ११ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाईते भएका कार्कीको थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरी निरिक्षक कट्वालले बताए ।

कार्कीलाई राजापानीको पाटीटारमा ढुंगाले लागेको हो । ढुंगाले लागेपछि गम्भीर घाईते भएका कार्कीको स्वास्थ्यचौकी बुईपामा सामान्य उपचारपछि धरान लैजानेक्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीको भनाइछ ।


Thursday, May 9, 2019

प्रश्नै प्रश्नले थिचिएको दिक्तेलबजार

–भीम राई :
खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको किराँत चोकदेखि हाटडाँडासम्मको यात्रामा निस्कँदा तपाईले जे देख्नुहुन्छ । त्यसले मनमा एक किसिमको तरङ्ग दिन्छ । बजारको प्रत्येक पेटी र पसलहरुमा स्थानीय उत्पादनहरु पाइदैन । शहरबाट ल्याइएको फलफुल तथा तरकारीहरुले बजार ढाकिएको छ । 

स्थानीय उत्पादनको कुनै बिक्रीवितरण देखिदैन । स्थानीयस्तरमा उत्पादन गरिएको कुनैपनि तरकारीहरु बजारको पसलमा हुँदैनन् । खेतियोग्य जमिन प्रशस्त छ भनेर राजनीतिक दलका नेताहरुले भनिरहँदा आम नागरिकहरु भने शहरबाट ल्याइएका रासायानिक तत्वले भरिपूर्ण भएका फलफुल तथा तरकारीको प्रयोग गर्नु लालायित छन् । 

स्याउ, केरा, अङ्गुर, अनार, सुन्तला, जुनार, मेवा, जस्ता फलफुलहरु छन् । बिक्री भइरहेका छन् । बन्दा, काउली, गोलेभेडाहरु सबै शहरबाट गाडीमा ल्याइएका छन् । मुला र गाँजरदेखि धनियाँको सागसम्म कि तराईबाट कि काठमाडौंबाट सिधै ल्याइएका छन् । यो अवस्था देख्दा हाम्रो गाउँको समृद्धि कतातिर जाँदैछ भन्ने प्रश्न उठ्छ । 

गाउँमा उत्पादन गर्ने आम किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजहरुले बजार नपाएको गुनासो सुनाइरहँदा बजारमा भने कुनै किसिमको उत्पादन सहजरुपमा नपाउनुले हाम्रो पैसा कता जाँदै छ रु भन्ने प्रश्न उठ्छ । हामी आत्मनिर्भर भएर बाँचेका छौँ कि परनिर्भर भएर जिएका छौँ भन्ने बारेमा सोझो जवाफ पाउन सकिने गरि हाम्रो जीवन पद्धती चल्न थालेको छ । 

हामीले प्रयोग गरेको कुन वस्तु हाम्रो आफ्नै उत्पादनका होलान भन्ने बारेमा सोच्दै जाने हो भने कुनैपनि कुरा हामीले आफ्नो उत्पादन प्रयोग गरेकै छैन । खानादेखि नाना सम्म बाहिरबाट आयात गरेर हामीले जीवन चलाई रहेका छौँ । 

सामन्यत भान्सामा छिरेपछि नै हामीले राम्ररी नियाल्ने हो भने हामीले उत्पादन गरेका कुनैपनि उपभोग्य सामग्रीहरु हामीले पाउँदैनौ । चामल हामी तराईबाट आएको प्रयोग गर्छौँ । नुन तेल बाहिरबाटै ल्याइएका छन् । खानेकुरामात्र होईन हामीले व्यापक प्रयोग गर्दै आएका पेयपदार्थ समेत बाहिरबाटै ल्यााएर प्रयोग गर्दै आएका छौँ ।

स्थानीय उत्पादनको नाममा हामीले प्रयोग गर्ने पानी बाहेक सबैकुरा आयातित सामग्रीकै भर पर्नु पर्ने भएपछि हाम्रो उत्पादनको न प्रर्वद्धन हुन सकेको छ । न यसको बजारी करणनै गर्न सकिएको छ । यसले खास आम उपभोक्ताहरुलाई समेत चनाखो बनाउनु पर्ने हो त्यो भएका छैन । 


जिल्लामा उत्पादन भएका अन्नहरुलाई कुहाएर आयातित मन्द बिष सेवन गर्ने बानीको विकास हुन थालेको छ । मानिसहरुको जीवनस्तरमा सुधार भएको भन्ने की डामाडोल हुँदैछ भन्ने विषयमा हामीले बहस गर्न थालिएकै छैन । यसले हाम्रो कृषकहरुलाई नैरस्यता थपिएको छ ।

अन्यौलताको सिर्जना भएका छन् । स्थानीय कृषकहरुको उत्पादनलाई बजारी करण गर्नको सम्बन्धित क्षेत्रले अनुगमन नगर्दा समस्या भएका छन् । नगरपालिकाले अर्गानीक नगरको अवधारणा अगाडि सारीरहेको बेला आफ्ना अगार्निक उत्पादन के के हुने र त्यसलाई स्थानीय स्तरमै कसरी प्रर्वद्धन गराउने भन्ने बारेमा योजना निर्माण गर्न आवश्यक रहेको देखिन्छ ।

बढ्दो शहरीकरण र उपभोग गर्ने सेवा र वस्तुहरु विस्तारै विलासी हुँदै गएपछि दैनिक जीवन सञ्चालन गर्ने तौड तरिकामा समेत नयाँ नयाँ ढङ्गहरु देखिन थालेका छन् । अहिले समाजमा देखिने गरेको सामाजिक यर्थातता भनेको नै विलासी जीवन जिउने होडबाजीमा देखिन्छ ।

व्यक्तिगत अर्थतन्त्रले धान्न नसक्ने गरी बढेको दैनिक कृयाकलापकै कारण सामाजिक अपराधीकरण बढेका छन् । गाउँमा भएका कोहीपनि मानिस स्मार्ट फोन नभएका हुँदैनन् । गाउँका शिक्षित देखि अर्धशिक्षित व्यक्तीहरु कोहीपनि सामाजिक सञ्जालमा नजोडिएको भन्ने पाइदैन ।

प्रत्येक युवा युवतीहरु मोटर साईकल वा विलासी सामाग्री बिहिन छैनन् । सामन्यत हिसाब गरौँ कि ? एउटा मोटर साईकल किन्ने पैसा, त्यसमा लाग्ने दैनिक इन्धन खर्च, उसले बाहिर गर्ने खाजा खर्च जस्ता कुराहरुको हिसाब गर्ने हो एकजना यूवाले प्रत्येक दिन करिब दुई हजारका दरले खर्च गरिरहेको छ । तर स्मरण रहोस त्यस्ता युवाहरुको रोजगार के खुल्ने गरेका छैनन् ।

यस्तो प्रवृत्तिले हाम्रो समाज कतातिर जाँदैछ ? हामी उत्पादनसँग जोडिएका छैनौँ । सजिलो व्यवसाय रोज्ने गरेका छौँ । एउटा युवाले रोज्ने व्यावसाय भनेको ठेक्कापट्टा, व्यापार वा सानो दलाली हो । यसले खास उत्पादनमा सहयोग पु¥याउँछ त ? 

युवाहरु वेरोजगार छन् भनेर रोजगारीको अवसर खोज्ने कुरा धेरै सुनिन्छ तर उत्पादनमूलक काममा युवाहरुलाई कतिको परिचालित गरिएको छ । यता पनि सोच्ने हो की ? एउटा युवाले रोजेको व्यवसाय जस्तै एउटा गाउँका किसानले गर्दै आएको व्यवसायबीच सम्बन्ध जोड्न किन सकिदैन ? प्रश्नहरु प्रशस्त छन् ।

अहिले सरकार गाउँ गाउँमा गएसँगै विकासको नाममा निकै ठुला कामहरु अगाडि बढीरहेका छन् । तर विकास भन्ने नाममा बाटोघाटो बनाउने पुलपुलेसा र भवनहरुको निर्माणमा मात्र ध्यान गईरहेको हामीले पाउँछौ । जनताको जीवनस्तर उकास्ने खास के काम भए होलान सोच्न आवश्यक भईसकेको छ ।

स्पष्ट छ । हिजो खोटाङ जिल्लाको सदरमुकाममा यातायातको सुविधा नहुँदा यहाँका कृषकहरुले उत्पादन गरेका सामग्रीहरुको खपत जती हुन्थ्यो । अहिले शहरीकरण बढेपछि कृषकका उत्पादनहरु भने घट्दो क्रममा छ । मोटर आयो मोटरसँगै विकास पनि आयो होला । तर विकास गाउँका किसानहरुको उत्पादन मासीदैँ गयो । स्थानीय जातका कुखुरा सुँगुरदेखि खसीबाख्रा हराउँदै गएका छन् । स्थानीय जातका धान मकै पाउन छाडियो ।

तरकारीहरु समेत अन्यत्रबाट आयात गरेर उपभोग गर्न थालिनुले हामीलाई अर्थतन्त्रले कसरी साथ देला ? प्रश्न जटिल भएर आएको छ । यसका बारेमा सरोकार राख्ने सबैले गम्भिर भएर सोच्ने की ?
लेखक : किराँत राई पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।

राई विद्यार्थीको राष्ट्रिय सम्मेलन सुरु

२६ वैशाख (खोटाङ)– खोटाङमा किरात राई बिद्यार्थी संघ केन्द्रिय समितिको ९ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित सुरु भएको सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गरेका हुन् । 

बिहिबार दिउँसो हेलीप्याडमा तीन चुल्होमा आगो बालेर उद्घाटन गरिएको तीन दिने सम्मेलनले नयाँ नेतृत्व चयन एबं भावी कार्यदिशा तय गर्दै सम्पन्न हुने संघले जनाएको छ । संघको राष्ट्रिय सम्मेलनमा पुर्वी नेपालका १४ जिल्ला र उपत्यकाका तीन जिल्लाका प्रतिनिधि एबं पर्यवेक्षकको उपस्थिति रहेको छ । 

सम्मेलन उद्घाटन अघि संघले दिक्तेल बजारमा ¥याली निकालेको थियो । साँस्कृतिक झाँकी सहितको ¥यालीमा बहुभाषिक बिश्वविद्यालय, बैज्ञानिक शिक्षा प्रणाली लगायतको माग गरिएको छ । संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि यायोक्खा समेत लागि परेको थियो । 


Monday, May 6, 2019

कानून विपरित हुन लागेको बालविवाह रोकियो

२४ वैशाख (खोटाङ)–खोटाङमा हुन लागेको वालविवाह रोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह रोकिएको हो । त्यहाँ वालविवाह हुन लागेको भनेर प्रहरीलाई खबर आएपछि प्रहरी टोली नपुग्दै भोजपुरवाट आएका जन्ती भागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए । 

सोमबार राती कानुन विपरीत विवाह हुन लागेको सूचना आएपछि राती ९ स् ३० वजे विवाह हुने घरमा प्रहरी पुग्दा जन्ती भागिसकेका थिए । महिलारपुरुषले २० वर्ष नपुगी विवाह गरेमा त्यो कानुन विपरीत हुनेछ । लुकीछिपी वालविवाह गरेको थाहा पाएमा समेत स्वतः त्यो बद्धर हुने कानुनमा उल्लेख छ । २० वर्षमुनी विवाह गरेमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना तिर्नुपर्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख गरिएको छ ।


करदाता सेवा कार्यालय उद्घाटन, कर तिर्न प्रदेश नं. २ पुग्नुपर्ने वाध्यता हट्यो

२३ वैशाख (खोटाङ)–खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । आज आईतबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा कर कार्यालयको उद्घाटन गरेका हुन् । 

करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नम्बर १ बाट प्रदेश नम्बर २ मा पुग्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले एक दिनदेखि दुई दिन लगाएर दोब्बर खर्चमा सिराहाको लहान पुगेर कर चुक्ता गर्दै आएका स्थानीयलाई जिल्लामै कर बुझाउन पाउने वाताबरण तयार भएको बताए ।

जिल्लामा करदाता सेवाको कार्यालय स्थापना भएपछि करका वारेमा जानकारी बढ्ने तथा कर छलीजस्ता क्रियाकलाप नहुने भट्टराईको भनाई थियो ।

भ्याट, पान लगायतका कर सम्वन्धी कामका लागि सिराहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्याका लागि दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय बाणिज्य बैंक र जिल्ला प्रहरी कार्यालय नजिकै स्थापना गरिएको करदाता सेवा कार्यालय उद्घाटन गरिएको हो ।



कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मुल्या अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत तथा नविकरण, कर संकलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गरिने करदाता सेवा कार्यालय दिक्तेलका प्रमुख गोपाल राईले बताए ।  

औपचारिक रुपमा करदाता सेवा कार्यालयको उद्घाटन आज गरिए पनि कर सम्बन्धीका सम्पूर्ण काम यसअघिदेखि नै हुँदै आएको थियो । खोटाङमा २ हजार ८ सय ५३ बढी करदाता रहेका छन् ।

Sunday, May 5, 2019

राष्ट्रिय स्तरको साकेला शिली प्रतियोगितामा भाग लिने अवसर (खोटाङको दोर्पामा हुँदै)

२३ वैशाख (खोटाङ)– खोटाङको दोर्पाचिउरीडाँडामा राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगिता हुने भएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा आगामी जेठ १३ र १४ गते बृहत साकेला सिली प्रतियोगिता गर्ने भएको हो । 

जसका लागि हाल प्रचारप्रसार तीव्र पारिएको छ ।  किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएकोे किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए । 

साकेला सिली नाच प्रतियोगीताका प्रथमलाई १ लाख, दोश्रोलाई ७५ हजार, तेश्रोलाई ५० हजार र सान्त्वनालाई २५ हजार नगदका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटिले जनाएको छ ।


प्रतियोगितामा भाग लिनका लागि जेठ ५ गते अपरान्हसम्म समय निर्धारण गरिएको छ । प्रतियोगितामा सिली व्याख्यता एकजना, ढोले दुईजना र साकेला नाच्नका निम्ति महिला पाँच जना र पुरुष पाँच जना हुनुपर्नेछ ।

युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि गर्न लागिएको साकेला सिली प्रतियोगीतामा जिल्ला तथा छिमेकी जिल्लाका करिब ५०÷६० समुहको सहभागीता रहने आयोजकको दाबी छ । 

सहभागी टिमलाई प्रतिटिम १० हजारका दरले यातायात खर्च समेत प्रदान गरिने आयोजकले जनाएको छ । साकेला सिली प्रतियोगीतामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका बिषयमा बिचार बिमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर–राईबीचमा सदभाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको बिषयमा समान बुझाईको बिकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

रक्सी खाने शिक्षकलाई ठीक लगाउँछु –मेयर रिजाल

२२ वैशाख (खोटाङ)- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले शनिवार लफ्याङस्थित श्रीमावि बास्बोटेमा आयोजित एक कार्यक्रममा सेन्तेरेम खाएर पढाउन आउने शिक्षकलाई ठीक पार्ने चेतावनी दिए । 

शैक्षिक गुणस्तर अभिबृद्धिका गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुका लागि गरिएको पुर्नताजकी तालिम उद्घाटन कार्यक्रममा मादक पदार्थलाई ‘सेन्तेरेम’ र ‘सोलमारी’को नाम दिँदै रिजालले सो कुरा बताएका हुन् ।

हिजोआज जाँड–रक्सी लगायतका मादक पदार्थलाई चिनाउन ‘सेन्तेरेम’ वा ‘सोलमारी’ शव्दको प्रयोग हुने गरेको पाइन्छ ।जाँड–रक्सीले मातेको मान्छे देखिए वा भेटिए व्यांग्यात्मक शैलीमा ‘सेन्तेरेम’ लागेछ भन्ने गरेको सुनिन्छ । प्रयोगका हिसावले सेन्तेरेम शब्द मादक पदार्थकै समानार्थी शब्दका रुपमा स्वीकार्य जस्तै बनिसकेको छ ।

‘सेन्तेरेम र सोलमारीको लत छ भने आजैबाट छाडिदिनुस नत्र खाएर विद्यालयमा आउनुभयो भने हामी छाड्दैनौँ, कडाभन्दा कडा कारबाही गर्छौँ,’ नगरप्रमुख रिजालले भने, ‘तर, हामी कारबाही मात्र गर्दैनौँ, राम्रो काम गर्ने शिक्षकलाई पुरस्कृत पनि गर्छौँ ।’

तपाईहरुले आफ्नो बच्चा सम्झेर शिक्षण सिकाई क्रियाकलाप गरिदिनुभयो भने मात्र तपाई हामीले चाहेको गुणस्तरीय शिक्षा प्राप्त सकिने नगरप्रमुख रिजालको भनाई थियो ।

कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का वडा वडाध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक निर्मल राई लगायतले शिक्षाबारे बोलेका थिए ।