Wednesday, January 29, 2025

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, पालिकाको लागि प्रतिष्ठाको खेल खेल्न अध्यक्ष राईको सुझाव



१६ माघ २०८१/साकेला÷साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन गाउँपालिका सरकार प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ । गाउँपालिकाको समग्र क्षेत्रको विकास भईरहँदा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउनुहुँदै अध्यक्ष राईले पालिकाको खेल जगतलाई माथि उठाउनको लागि संस्थागत रुपमा लागि पर्ने कुरा बताउनुभएको हो ।

साकेला गाउँपालिकाको आयोजना तथा राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाको व्यवस्थापनमा बुधबारदेखि साकेला गाउँपालिकाको वडा नम्बर १ स्थित बाँझे खेलमैदानमा सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो । पालिकास्तरीय छनौट खेलहुँदै जिल्ला, प्रदेश र संघ सम्म हुने प्रतियोगितामा पुगेर साकेला गाउँपालिकाको नाम उच्च राख्न अध्यक्ष राईले सम्पूर्ण खेलाडि विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो ।



अध्यक्ष राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । अर्को प्रशंगमा अध्यक्ष राईले पालिकामा हुने थुप्रै भौतिक विकासको कामहरुमा अवरोध हुने गरेको, गाउँपालिकाको विकासको लागि आएको योजनाहरु कटौती गरेर समृद्ध पालिका निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रयास गरिरहेको समेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- पालिकामा हुने थुप्रै विकासे योजना असफल बनाउन केही व्यक्तिहरु लागिरहेका छन्, यसप्रति तपाईहामी सबै नागरिक सचेत भएर विकास विरोधीको भण्डाफोर गर्नुपर्छ । विकासमा हुने अवरोधले हामीले देखेको साकेला गाउँपालिकाको समृद्धिको सपना पुरा हुँदैन, समृद्ध पालिका निर्माणका लागि सबै तह र तप्काका व्यक्ति व्यक्तित्व एकजुट भएर लागि पर्नुपर्ने आवश्यकता भएको अध्यक्ष राईले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक विकास र गतिविधिहरुमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।



साकेला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेमन राईको अध्यक्षतामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी शुक्रबार सम्म सञ्चालन हुने जनाईएको छ । पालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी,  हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रधानाध्यापक हिराधन गुरुङलले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।



 राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्नेछ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन-जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने समय तालिका टुङ्गो लागेको छैन ।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँगै प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा संयोजक कविराज राई, निर्वाचित जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, पूर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment