२३ वैशाख (खोटाङ)– खोटाङको दोर्पाचिउरीडाँडामा राष्ट्रिय स्तरको साकेला सिली प्रतियोगिता हुने भएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा आगामी जेठ १३ र १४ गते बृहत साकेला सिली प्रतियोगिता गर्ने भएको हो ।
जसका लागि हाल प्रचारप्रसार तीव्र पारिएको छ । किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएकोे किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए ।
साकेला सिली नाच प्रतियोगीताका प्रथमलाई १ लाख, दोश्रोलाई ७५ हजार, तेश्रोलाई ५० हजार र सान्त्वनालाई २५ हजार नगदका साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक किरात राई यायोक्खा प्रारम्भिक कमिटिले जनाएको छ ।
प्रतियोगितामा भाग लिनका लागि जेठ ५ गते अपरान्हसम्म समय निर्धारण गरिएको छ । प्रतियोगितामा सिली व्याख्यता एकजना, ढोले दुईजना र साकेला नाच्नका निम्ति महिला पाँच जना र पुरुष पाँच जना हुनुपर्नेछ ।
युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि गर्न लागिएको साकेला सिली प्रतियोगीतामा जिल्ला तथा छिमेकी जिल्लाका करिब ५०÷६० समुहको सहभागीता रहने आयोजकको दाबी छ ।
सहभागी टिमलाई प्रतिटिम १० हजारका दरले यातायात खर्च समेत प्रदान गरिने आयोजकले जनाएको छ । साकेला सिली प्रतियोगीतामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका बिषयमा बिचार बिमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर–राईबीचमा सदभाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको बिषयमा समान बुझाईको बिकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

No comments:
Post a Comment