खोटाङ–डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ । डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो ।
फागुन ३० गते डाले घाँस काट्ने क्रममा लडेर गम्भीर भएकी राईको हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । रुखबाट लड्दा सात महिने गर्भवती कविताको दाहिने हात दुई ठाउँमा भाँचिएको छ । ढाडमा असर पुग्दा उठबस गर्नै नसक्ने अवस्थामा पुगे पनि उनले चैत ३ गते सात महिनाको बच्चालाई सकुसल जन्म दिएकी आफन्तले बताएका छन् । जन्मिएदेखि आइसियुमा राखिएका नवजात शिशु (छोरा) लाई आइतबार निकालिएको छ ।
उनको उपचारमा परिवारले अहिलेसम्म ऋण गरेर एक लाख ३० हजार खर्च गरेको छ । थप उपचारका लागि आर्थिक समस्या भएको श्रीमान शेषकुमार राईले बताए । शेषकुमार आफैं पनि शारीरिक रूपमा अपांग छन् । उनको बालक छँदै दाहिने हात भाँचिएर काटिएको छ । बिरामीको उपचारमा सहयोग गर्नका लागि ९८६२५०३८४४ मा फोन सम्पर्क गर्न सकिनेछ ।
यसैबीच, उपचारका क्रममा आर्थिक अभवा झेलीरहेकी कवितालाई १३ हजार आर्थिक सहयोग प्राप्त भएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले पाँच हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिनादेवी राईले ३ हजार र समाजसेवी देवान राईले पाँच हजार आर्थिक सहयोग गरेका हुन् । उनीहरूले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनको नाजुक अवस्था देखेर शुभेच्छुकबाट सहयोग जुट्न थालेको छ ।

No comments:
Post a Comment